प्रधानमन्त्रीलाई हर्क साम्पाङले भने– ‘टाइ–सुट र ठूला घरले मान्छे बनाउँदैन’

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याउन आफूले एक महिनादेखि लगातार आवाज उठाइरहे पनि सरकार र सभामुखले बेवास्ता गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रतिनिधिसभामै असन्तुष्टि पोखे।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरिरहेका साम्पाङले शुक्रबार सरकारको मौनता, संसद्को जवाफदेहिता र राजनीतिक नेतृत्वको नैतिकतामाथि एकैसाथ प्रश्न उठाउँदै ‘टाइ–सुट लगाउँदैमा, चिल्लो गाडी चढ्दैमा वा ठूला घरमा बस्दैमा मानिस नबन्ने’ टिप्पणी गरे।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूहरूले लामो समयदेखि जवाफ माग्दै आए पनि सुनुवाइ नभएको गुनासो गरे। उनले प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्ने माग गर्दै आफूले निरन्तर आन्दोलन गरिरहेको र प्लेकार्डसहित संसदमा उभिएको १६ दिन भइसकेको बताए।

‘हामीले प्रधानमन्त्रीज्यूको जवाफ माग गरेको करिब एक महिना धेरै भइसक्यो। प्रधानमन्त्रीज्यूको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि १६ दिन भयो, प्लेकार्ड बनाएर उभिएको पनि त्यति नै समय भयो,’ साम्पाङले भने, ‘सभामुखज्यूलाई पनि उहाँले बोल्नुभएको राष्ट्रघाती शब्द डिलिट गरियोस् भनेर त्यति नै दिनदेखि भनिरहेका छौं।’

उनले प्रधानमन्त्री र सभामुख दुवैतर्फ संकेत गर्दै जनप्रतिनिधिहरूले उठाएका विषय नसुन्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि नै प्रश्न खडा गरेको बताए। ‘अब तपाईंले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, कसैले कसैको केही पनि नसुन्ने। ढुङ्गाहरूको देश हो या मान्छेको देश हो ? अचम्म लागेको छ,’ उनले भने।

प्रधानमन्त्री साहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा सम्बन्धी टिप्पणी गरेका थिए। उनले ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै प्रधानमन्त्रीसँग स्पष्टीकरण मागिरहेका छन्।

साम्पाङले पनि उक्त अभिव्यक्तिलाई राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भन्दै त्यसलाई सच्याउनुपर्ने अडान दोहो¥याउँदै आएका छन्। तर प्रधानमन्त्रीले त्यसबारे पुनः संसदमा आएर स्पष्टीकरण नदिएको र अभिलेख सच्याउने विषयमा पनि कुनै पहल नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

भाषणको अन्त्यतिर साम्पाङले राजनीतिक नेतृत्वको नैतिकता र जिम्मेवारीबोधको विषय उठाउँदै वर्तमान राजनीतिक संस्कृतिमाथि टिप्पणी गरे। ‘हामी जिम्मेवार बन्नुपर्छ। जिम्मेवारीले मात्रै मान्छेलाई मान्छे बनाउँछ,’ उनले भने, ‘मान्छे बन्नका लागि भात खाएर, टाइ–सुट लगाएर, राम्रो लुगा लगाएर हिँड्दैमा हुँदैन। चिल्लो–चाप्लो गाडी चढेर, ठूला घरमा बस्दैमा हामी मान्छे बन्दैनौं। हामीमा नैतिकता हुन जरुरी छ, जवाफदेहिता हुन जरुरी छ।’

साम्पाङको अभिव्यक्ति संसदमा प्रधानमन्त्रीको विवादास्पद भनाइबारे उठिरहेको बहसकै निरन्तरता हो। विपक्षी दलहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिरहेका छन् भने सरकार पक्षले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट