निर्धारित समयअघि नै सार्वजनिक भयो कक्षा १२ को नतिजा, नियमिततर्फ झण्डै ७० प्रतिशत उत्तीर्ण

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेसँगै औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय बिहान ८ बजे बसेको बैठकबाट गरिएको हो। यस वर्षको परीक्षामा सहभागी नियमिततर्फका परीक्षार्थीमध्ये ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गत वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमित तथा ८५ हजार ९२९ जना आंशिकतर्फका परीक्षार्थी रहेका बोर्डले जनाएको छ।

परीक्षाको मर्यादा उल्लंघन गरेको आरोपमा नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। सरकारले नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले निर्धारित समयभन्दा अगावै नतिजा सार्वजनिक गर्न सफल भएको हो।

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजासमेत सरकारले तोकेको समयसीमाभन्दा छिट्टै सार्वजनिक गरिएको थियो।

यसरी हेर्न सकिन्छ नतिजा
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np तथा नेपाल टेलिकमको neb.ntc.net.np मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

त्यस्तै, मोबाइलबाट SMS सेवा प्रयोग गर्न चाहने परीक्षार्थीले NEB लेखी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सक्नेछन्। नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरेर वा ८१६०१३ डायल गरी पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट