श्रीमतीलाई फलामको रडले घोचेर तीनतलाबाट हाम्फाले श्रीमान्, उपचारकै क्रममा मृत्यु

दमक– झाको बिर्तामोडमा शुक्रबार बिहान एक वृद्ध दम्पतीबीच भएको घरायसी विवादले दुःखद मोड लिएको छ। विवादका क्रममा ७२ वर्षीय एक पुरुषले आफ्नी श्रीमतीलाई फलामको रडले आक्रमण गरी घाइते बनाएका छन् भने त्यसलगत्तै आफ्नै घरको तेस्रो तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको छ।

घटनामा घाइते भएकी श्रीमती भने अस्पतालमा उपचाररत छिन् र उनको अवस्था स्थिर छ। बिर्तामोड नगरपालिका–५, अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशी र उनकी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीबीच शुक्रबार बिहान करिब साढे ५ बजे घरायसी विषयलाई लिएर विवाद भएको थियो।

प्रहरीका अनुसार विवाद चर्किएपछि घिरेन राजवंशीले फलामको रड प्रयोग गरी श्रीमती गंगामुनीको पेटमा प्रहार गरेका थिए। आक्रमणबाट घाइते भएकी गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याइएको थियो।

अस्पताल स्रोतका अनुसार उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम छ। उनी बोल्न सक्ने अवस्थामा रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाइएको छ। श्रीमतीमाथि आक्रमण गरेलगत्तै घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनका हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई पनि तत्काल उद्धार गरी बिर्तासिटी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा बिहान करिब पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण, विवादको पृष्ठभूमि तथा अन्य पक्षबारे थप अनुसन्धान अघि बढाएको छ।

श्रीमान श्रीमतीबीच भएको हिंसात्मक घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ। बिहानै भएको उक्त घटनामा एकजनाको ज्यान गएको छ भने अर्की एक महिला अस्पतालमा उपचाररत छिन्। प्रहरीले घटनासम्बन्धी सबै पक्षको अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट