७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– महोत्तरीको सोनमा गाउँपालिकामा सडक ढलान योजनाको भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

योजनाको काम सम्पन्न भइसकेपछि पनि विभिन्न बहाना देखाउँदै भुक्तानी रोकेर घुस मागेको आरोप पुष्टि भएको आयोगले जनाएको छ। घुस रकम लिइसकेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै ७२ हजार रुपैयाँ बराबरको बिगो कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ। आयोगका अनुसार सडक ढलान योजनाको सम्झौताअनुसार काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा यादवले विभिन्न कारण देखाउँदै सेवाग्राहीसँग रकम माग गरेका थिए।

प्रारम्भिक अनुसन्धान र उजुरीका आधारमा खटिएको अख्तियार टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। अनुसन्धानबाट स्पष्ट रूपमा सम्झौताअनुसारको काम सम्पन्न भइसकेको अवस्थामा पनि भुक्तानी रोक्दै अनावश्यक झन्झट सिर्जना गरी घुस मागिएको देखिएको आयोगको दाबी छ।

अख्तियारले दायर गरेको आरोपपत्रमा यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको उल्लेख छ। सोही आधारमा आयोगले बिगो रकम ७२ हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कानुनअनुसार कैद सजाय हुन मागदाबी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त मुद्दा आज विशेष अदालत, काठमाडौंमा दायर गरिएको उल्लेख छ। आयोगले सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनावश्यक झन्झट र घुस–रिसवतको अभ्यासविरुद्ध निरन्तर कारबाही अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट