आफ्नै घरबाट ६ लाख रुपैयाँ चोरेपछि फेरि पक्राउ परे जेनजी आन्दोलनमा भागेका कैदी

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट भागेर फरार भएका डाका चोरी मुद्दाका एक प्रतिवादी आफ्नै घरबाट लाखौं रुपैयाँ चोरी गरेको आरोपमा पुनः प्रहरीको फन्दामा परेका छन्।

कारागारबाट भागेपछि फरार जीवन बिताइरहेका ती व्यक्ति नगद रकमसहित धादिङमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठ निवासी ३१ वर्षीय मोक्तानलाई गजुरी गाउँपालिका–६ आदमघाट बजारबाट पक्राउ गरिएको हो।

उनी मोटरसाइकलमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा परेका थिए। घटनामा सहयोग गरेको आरोपमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ का अशोक तामाङ र उमेश तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मोक्तानले आफ्नै घरबाट करिब ६ लाख रुपैयाँ चोरी गरी फरार भएका थिए। पक्राउ परेका मोक्तानको साथबाट ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूबाट दुई वटा मोटरसाइकल र तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ। बरामद सामग्री नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रहरी अनुसन्धानका क्रममा मोक्तानको आपराधिक पृष्ठभूमि समेत खुलेको छ।

उनीविरुद्ध यसअघि गोली हानी फरार भएको घटना, अवैध हतियार सम्बन्धी कसुर तथा चोरी–डाका मुद्दाहरू दर्ता रहेको प्रहरीले जनाएको छ। मोक्तान डाका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उत्पन्न अव्यवस्थाको फाइदा उठाउँदै भीमफेदी कारागारबाट फरार भएका थिए। त्यसयता उनी प्रहरीको खोजी सूचीमा रहेका थिए।

कारागारबाट भागेको झण्डै एक वर्षपछि आफ्नै घरबाट नगद चोरी गरेको आरोपमा पक्राउ परेका मोक्तानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट