सिरहामा ३ करोडको ब्राउन सुगर बेचिसकेका कारोबारीलाई प्रहरीले गोली हानेर समात्यो, सप्तरीमा पनि दुई जना पक्राउ
राजविराज— मधेशका सीमावर्ती जिल्लाहरूमा बढ्दो लागूऔषध कारोबारविरुद्ध प्रहरीले एकैसाथ तीव्र कारबाही अघि बढाएको छ। सिरहामा प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्न खोजेका एक कुख्यात ब्राउन सुगर (खैरो हेरोईन) कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ भने सप्तरीमा भारतबाट मोटरसाइकलमार्फत ल्याइएको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ।
दुई जिल्लामा भएको कारबाहीबाट कुल १ सय २४ ग्रामभन्दा बढी ब्राउन सुगर तथा खैरो हेरोइन बरामद भएको छ। सिरहा नगरपालिका–२१, लगडीगोठमा आइतबार साँझ भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भन्ने रञ्जितकुमार पासवान र एक नाबालक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर विशाल मल्लको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्यूरो, गोलबजार शाखाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा पासवानसहितको समूह प्रहरीमाथि ढुंगामुढा गर्दै भारतीय सीमातर्फ भाग्न प्रयास गरेको थियो। त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरेको थियो। गोली पासवानको खुट्टाको पिँडुलामा लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
ढुंगामुढाको क्रममा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुरसमेत घाइते भएका छन्। घाइते प्रहरी जवान, गोली लागेका पासवान र पक्राउ परेका नाबालकको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले बताए।
प्रहरीले पासवान र नाबालकको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। एसपी पाठकका अनुसार प्रारम्भिक अनुसन्धानले पासवान सिरहा तथा आसपासका क्षेत्रमा सक्रिय कुख्यात लागूऔषध कारोबारी रहेको देखाएको छ। जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट पक्राउ परेका अधिकांश लागूऔषध प्रयोगकर्ताले उनीबाटै ब्राउन सुगर खरिद गर्ने गरेको बयान दिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पासवानले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरिसकेको देखिएको छ। उनले संगठित समूह बनाएर कारोबार सञ्चालन गर्दै आएको तथा वितरणका लागि नाबालकहरूको समेत प्रयोग गर्ने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।
यता, सप्तरीमा पनि लागूऔषध नियन्त्रण अभियानअन्तर्गत दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार असार ५ गते साँझ करिब ६ बजे प्रहरी चौकी देउरीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका–९ स्वर्णपट्टीस्थित नेपाल–भारत आवतजावत गर्ने सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको स ७ प ८५२३ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल रोकेर जाँचका क्रममा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–८ पोखरिया निवासी ३६ वर्षीय त्रिलोकी चौधरी र पछाडि सवार शम्भुनाथ नगरपालिका–७ भंगहा टोल निवासी ३२ वर्षीय सन्तलाल दासको खानतलासी गर्दा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सन्तलाल दासले लगाएको हाफ पाइन्टको पछाडिको खल्तीमा सेतो प्लास्टिकको प्याकेटभित्र दुईवटा स्टिलका साना बट्टामा लुकाएर राखिएको अवस्थामा उक्त वस्तु फेला परेको थियो। जसको तौल ३१ ग्राम ९१० मिलिग्राम रहेको पुष्टि भएको थियो।
उनीहरूको साथबाट ओप्पो र भिभो कम्पनीका दुई थान मोबाइल फोन, नगद ७ हजार ३५० रुपैयाँ तथा प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई लागूऔषध, नगद, मोबाइल र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको छ।
सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेले जानकारी दिए।
सीमावर्ती मधेशका जिल्लामा पछिल्लो समय ब्राउन सुगरको कारोबार बढ्दै गएको निष्कर्ष प्रहरीको छ। सिरहा र सप्तरीमा भएका पछिल्ला कारबाहीले भारत–नेपाल सीमालाई प्रयोग गरेर सञ्चालन हुने लागूऔषध तस्करी सञ्जालमाथि प्रहरीको निगरानी अझ कडा बनाइएको संकेत गरेको छ।

