सिरहामा ब्राउन सुगरसहित चार जना पक्राउ, दुई मोटरसाइकल समेत नियन्त्रणमा

लहान– भारतबाट नेपालतर्फ लागुऔषध भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा सिरहाको सीमावर्ती क्षेत्रमा गरिएको संयुक्त प्रहरी कारबाहीमा ब्राउन सुगर (खैरो हेरोइन) सहित चार जना पक्राउ परेका छन्। घटनामा प्रयोग भएका दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असार १३ गते साँझ सिरहा नगरपालिका–१५ बुधौरा क्षेत्रमा इलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले छुट्टाछुट्टै समयमा चेकजाँच गर्ने क्रममा चार जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पहिलो घटनामा नेपालतर्फ आउँदै गरेको स.७ प १५७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा चालक सिरहा नगरपालिका–१६ माडरका २० वर्षीय सन्तोष मुखिया र पछाडि सवार १८ वर्षीय राहुल मुखियाको मुखभित्र प्लास्टिकको पोको बनाएर लुकाइछिपाइ ल्याइएको ब्राउन सुगर बरामद भएको छ। बरामद ब्राउन सुगर ०.६० ग्राम रहेको प्रहरीले जनाएको छ।

अर्को चेकजाँचका क्रममा बा.५३ प ६६४० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको थियो। मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ ढुंग्रेबासका २९ वर्षीय बाबुराम विक र पछाडि सवार कमलामाई नगरपालिका–४ देउरालीका २४ वर्षीय समिर थापामाथि शंका लागेपछि विस्तृत जाँच गरिएको थियो।

प्रहरीका अनुसार मोटरसाइकलको चेन कभरभित्र लुकाएर राखिएको अवस्थामा ११.३७ ग्राम ब्राउन सुगर बरामद भएको हो। पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट