जेनजी आन्दोलनमा रविसँगै नख्खु कारागारबाट फरार भएका हाडनाता करणीका कैदी उदयपुरबाट पक्राउ
राजविराज— जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका हाडनातामा जबरजस्ती करणी मुद्दाका कैदी उदयपुरमा पक्राउ परेका छन्। २३ वर्ष कैद सजाय पाएका ति कैदीलाई उदयपुरको चुहाडे क्षेत्रबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार असार १९ गते बिहान करिब साढे १० बजे अस्थायी प्रहरी पोस्ट चुहाडेबाट खटिएको टोलीले ती कैदीलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति परिवर्तित नाम ‘०७९÷०८० सातदोबाटो (९७)’ हुन।
प्रहरीका अनुसार उनी २०८२ साल भदौ २४ गते भएको जेनजी आन्दोलनका कारागारबाट फरार भएका थिए। ललितपुर जिल्ला अदालतले उनलाई हाडनातामा जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला कारागार कार्यालय उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ। यो पक्राउसँगै भदौ २४ गते नख्खु कारागारमा भएको घटनाले पुनः चर्चा पाएको छ। उक्त दिन जेनजी आन्दोलनका क्रममा कारागार बाहिर ठूलो संख्यामा प्रदर्शनकारी भेला भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि नख्खु कारागारबाट बाहिरिएका थिए।
सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेलाई सुरक्षा जोखिमको कारण देखाउँदै कारागार प्रशासनले बाहिर पठाएको जनाएको थियो। त्यतिबेला नख्खु कारागारका प्रमुख सत्यराज जोशीले कारागार वरिपरी तनावपूर्ण अवस्था सिर्जना भएकाले परिस्थितिलाई नियन्त्रणमा राख्ने उद्देश्यले लामिछानेलाई बाहिर जान दिइएको बताएका थिए।
लामिछानेले पनि आफू कानुनी प्रक्रिया पूरा गरेर मात्र कारागारबाट बाहिरिएको दाबी गर्दै आएका छन्। तर राष्ट्रिय मानव अधिकार आयोगले पछि सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेको कारागार बाहिरिने प्रक्रिया गैरकानुनी भएको निष्कर्ष निकाल्दै त्यसलाई कारागार ऐन, २०७९ को दफा ४९ अन्तर्गतको फौजदारी अपराधको विषयका रूपमा व्याख्या गरेको थियो।
आयोगले प्रतिवेदनमा कुनै पनि बहानामा कैदीबन्दी कारागारबाट भाग्नु वा बाहिर निस्कनु विधिको शासनमाथिको चुनौती भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो। प्रतिवेदनमा लामिछाने, तत्कालीन जेलर सत्यराज जोशी तथा घटनाक्रममा संलग्न रहेको भनिएका अन्य व्यक्तिहरूमाथि समेत अनुसन्धान गर्न सुझाव दिइएको थियो।
उदयपुरमा पक्राउ परेका सजायप्राप्त कैदी पनि सोही आन्दोलनको अराजकताबीच नख्खु कारागारबाट फरार भएको प्रहरीको विवरणले देखाएको छ। प्रहरीले फरार कैदीको पक्राउसँगै अन्य फरार व्यक्तिहरूको खोजी तथा निगरानीसमेत जारी रहेको जनाएको छ।

