गणेशको मृत्युको दोष बालेनले बोक्नुपर्छ, यो महानगरले रोपेको अमानवीय शैलीको परिणाम होः रक्षा बम
काठमाडौँ— त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि २५ वर्षीय पठाओ चालक गणेश नेपालीले आत्मदाह प्रयास गरेको र उपचारका क्रममा मृत्यु भएको घटनाले राजनीतिक र सामाजिक बहसलाई नयाँ मोड दिएको छ। घटनाको कारणबारे प्रहरी अनुसन्धान जारी रहेकै बेला जेन–जी अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिका र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीमाथि तीव्र प्रश्न उठाएकी छिन्।
बमले गणेश नेपालीको आत्मदाह प्रयासलाई कुनै एक दिनको घटना नभई काठमाडौं महानगरपालिकामा बालेन साह मेयर हुँदा संस्थागत रूपमा विकसित गरिएको ‘अमानवीय र असंवेदनशील प्रवृत्ति’ को परिणामका रूपमा व्याख्या गरेकी छिन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको लामो टिप्पणीमा गणेशको घटनालाई बालेनको तीन वर्षे नेतृत्वकालसँग जोड्दै समर्थकहरूलाई समेत अब त्यसको राजनीतिक र नैतिक जिम्मेवारी वहन गर्नुपर्ने तर्क गरेकी छिन्।
उनको टिप्पणी गणेश नेपालीको घटनापछि बालेन साहमाथि केन्द्रित भएका आलोचना र समर्थनबीच आएको छ। बमले लेखेकी छिन्, ‘३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वपा समर्थक र बालेनका फ्यानबोईहरूले अब बालेनलाई तीन वर्षको भारी बोकाउन तयार हुनुपर्छ।’
रक्षा बमका अनुसार गणेश नेपालीले आत्मदाह प्रयास गर्नुपर्ने अवस्था सिर्जना हुनुको जड महानगर प्रहरीको व्यवहारमा खोजिनुपर्छ। उनले काठमाडौं महानगरपालिकाको नगर प्रहरीले विगत केही वर्षदेखि सडक व्यापारी, सुकुम्बासी र आर्थिक रूपमा कमजोर समुदायप्रति अपनाएको शैलीलाई आलोचना गर्दै त्यसलाई ‘आत्मसम्मानमाथिको निरन्तर आक्रमण’ को संज्ञा दिएकी छिन्।
उनको दाबीमा बालेन साहले चुनावी अभियानका क्रममा सडक व्यवस्थापनलाई सहज रूपमा प्रस्तुत गरे पनि कार्यकालमा पुगेपछि कठोर र दमनकारी शैली अपनाएका थिए। महानगरले सञ्चालन गरेका सडक व्यापारी हटाउने अभियान, सुकुम्बासी बस्तीमाथिका डोजर कारबाही तथा सार्वजनिक स्थल व्यवस्थापनका विभिन्न कदमहरूलाई उनले यही सन्दर्भमा स्मरण गरेकी छिन्।
बमले चमेली अभियान, अभियन्ता ईःको आन्दोलन तथा थापाथली सुकुम्बासी बस्ती हटाउने विवादलाई पनि आफ्नो तर्कको आधार बनाएकी छिन्। उनका अनुसार ती घटनाहरूले महानगरभित्र संवादभन्दा बल प्रयोग र प्रशासनिक दबाबलाई प्राथमिकता दिने संस्कृति विकास भएको संकेत गरेका थिए।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्– महानगरभित्र विकसित भएको यही प्रवृत्ति पछि अन्य सरकारी निकाय र संरचनामा समेत प्रभावका रूपमा देखिन थालेको छ। कर्णालीमा काफल बेच्ने महिलामाथि भएको दुव्र्यवहारदेखि विभिन्न स्थानमा कमजोर वर्गमाथि भएको व्यवहारसम्मलाई उनले एउटै मानसिकताको निरन्तरता भनेर व्याख्या गरेकी छिन्।
गणेश नेपालीको घटनापछि सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाप्रति पनि बमले असन्तुष्टि व्यक्त गरेकी छिन्। उनका अनुसार अहिलेको बहसमा कतिपय पक्षले गणेशकै निर्णयमाथि प्रश्न उठाउन थालेका छन् भने कतिपयले घटनाको जिम्मेवारी अन्यत्र मोड्ने प्रयास गरिरहेका छन्। उनले यस्ता प्रवृत्तिले मूल प्रश्न ओझेलमा पार्ने जोखिम रहेको उल्लेख गरेकी छिन्।
उनको टिप्पणीको अर्को महत्वपूर्ण पक्ष बालेन साहको राजनीतिक यात्रासँग सम्बन्धित छ। बमले तीन वर्षअघि व्यवसायी प्रेमप्रसाद आचार्यले संसद् भवनअगाडि आत्मदाह गर्दा बालेन साहले सामाजिक सञ्जालमार्फत राज्यको असफलतामाथि कडा टिप्पणी गरेको प्रसंग पनि स्मरण गराएकी छिन्। त्यतिबेला बालेनले आत्मदाहलाई ‘राज्यको चरम असफलता’ को संकेत भनेका थिए।
रक्षा बमको तर्क छ, यदि त्यतिबेला राज्यका निकायहरूको व्यवहारलाई आत्मदाहसम्म पुग्ने परिस्थितिको कारक मानिएको थियो भने आज गणेश नेपालीको घटनामा पनि राज्यका निकाय र प्रशासनिक संरचनाको भूमिकामाथि समान प्रश्न उठ्नुपर्छ।
यद्यपि गणेश नेपालीको आत्मदाह प्रयास र मृत्युको वास्तविक कारणबारे अहिलेसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। घटनास्थलका सीसीटीभी फुटेज संकलन गरिएको छ भने नगर प्रहरी, प्रत्यक्षदर्शी र सम्बन्धित पक्षसँग बयान लिने काम भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले राहदानी विभागअगाडि पार्क गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्वील लक’ लगाएपछि विवाद भएको देखाएको छ। त्यसपछि गणेश नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको तथ्य सार्वजनिक भइसकेको छ। वीर अस्पतालको बर्न आईसीयूमा उपचाररत रहेकै वेला थप उपचारका लागि भारत लैजाने तयारीकै क्रममा उनको मृत्यु भएको छ।
रक्षा बमको टिप्पणीले भने घटनालाई केवल व्यक्तिगत आवेग वा आकस्मिक प्रतिक्रियाको रूपमा मात्र नभई राज्य, स्थानीय सरकार र नागरिकबीचको सम्बन्धको ठूलो बहससँग जोड्ने प्रयास गरेको देखिन्छ। उनको निष्कर्षमा गणेश नेपालीको घटना एउटा व्यक्तिको दुःखद निर्णय मात्र होइन, सार्वजनिक निकायहरूको व्यवहार, शक्ति प्रयोगको शैली र नागरिकको आत्मसम्मानप्रतिको संवेदनशीलतामाथि पुनर्विचार गर्नुपर्ने संकेत पनि हो।
स्टाटसको अन्त्यमा उनले भावुक शैलीमा लेखेकी छिन्, ‘जबसम्म शैली बदलिँदैन, गणेशहरू मरिरहन्छन्।’ यद्यपि यो अभियन्ता रक्षा बमको व्यक्तिगत राजनीतिक र सामाजिक टिप्पणी हो। गणेश नेपालीको घटनाको कारण, जिम्मेवारी र निष्कर्षबारे अन्तिम निर्णय भने प्रहरी अनुसन्धान, तथ्य र प्रमाणका आधारमा मात्रै स्थापित हुनेछ।

