डोजर लगाएर खेदिएका सुकुम्बासीको होल्डिङ सेण्टरमा बाढि पसेपछि विजोग, अवस्था वुझन गएका युवाहरु पक्राउ
काठमाडौँ– वाग्मती नदीमा आएको बाढीले कीर्तिपुरस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर जलमग्न बनाएपछि त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासी पुनः संकटमा परेका छन्। थापाथली, गैरीगाउँलगायत क्षेत्रबाट हटाएर राखिएको उक्त होल्डिङ सेन्टर शुक्रबार राति डुबानमा परेपछि उनीहरूका लत्ताकपडा, खाद्यान्न, औषधि र दैनिक जीवनयापनका सामग्री नष्ट भएका छन् भने राज्यको पुनस्र्थापना व्यवस्थापनमाथि समेत गम्भीर प्रश्न उठेको छ।
लगातारको वर्षापछि वाग्मती नदीको बहाव बढ्दै जाँदा शुक्रबार राति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पस्न थालेको थियो। केही समयमै पानीको सतह तीव्र रूपमा बढेपछि त्यहाँ बसिरहेका सुकुमवासीहरू ज्यान जोगाउन भागदौडमा लागे। प्रारम्भिक चरणमा उनीहरूलाई बाढीको जोखिमबारे पूर्वसूचना नदिइएको गुनासो समेत पीडितहरूले गरेका छन्।
सुकुमवासी राजकुमार माझीका अनुसार रातको समयमा अधिकांश मानिस निदाइरहेका बेला अचानक पानी पस्न थालेपछि अवस्था भयावह बनेको थियो। उनले घुँडाभन्दा माथिसम्म पानी पुगेपछि मात्रै आफूहरूलाई वास्तविक जोखिमको जानकारी भएको बताए।
स्थिति जटिल बन्दै गएपछि नेपाल प्रहरीसहितको उद्धार टोली डुङ्गासहित घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीले कम्तीमा ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेका थिए। अन्य कतिपय आफन्तकहाँ आश्रय लिन पुगेका छन् भने केही अझै पनि होल्डिङ सेन्टर आसपासमै अस्थायी रूपमा बसिरहेका छन्।
बाढीको पानी घटेपछि सेन्टर परिसर हिलो, लेदो र दुर्गन्धले भरिएको छ। भित्र रहेका अधिकांश सामग्री प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। सुकुमवासीहरू अहिले हिलोभित्र पुरिएका आफ्ना सामान खोज्न बाध्य छन्।
होल्डिङ सेन्टरमा बस्दै आएकी मेनुका गुरुङले बाढीबाट जोगाउन भन्दै आफूहरूलाई पुरानो बस्तीबाट हटाइए पनि अन्ततः झन् असुरक्षित स्थानमा ल्याएर छाडिएको आरोप लगाइन्। उनका अनुसार चामल, चिउरा, बिस्कुट, लत्ताकपडा र बालबालिकाका लागि राखिएको खाना समेत बाढीले नष्ट गरेको छ।
उनले पुरानो बस्ती हटाउँदा राज्यले प्रहरी र सुरक्षाकर्मी प्रयोग गरी बलपूर्वक उठाएको तर वैकल्पिक व्यवस्थापन पर्याप्त नगरेको गुनासो गरिन्। आफूहरू पनि राज्यकै नागरिक भए पनि व्यवहार भने नागरिकसरह नभएको उनको भनाइ छ।
अर्की सुकुमवासी गीता लामाका अनुसार बाढीले घरायसी सामग्रीमात्र होइन, परिवारको स्वास्थ्य सुरक्षामा समेत गम्भीर असर पु¥याएको छ। उनका श्रीमान् डिप्रेसनसहित विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन्। नियमित सेवन गर्नुपर्ने औषधि, चिकित्सकीय कागजात र खाद्यान्न सबै बाढीले बगाएपछि उनी थप चिन्तित बनेकी छिन्।
लामाले रातको समयमा ज्यान बचाउन मात्रै केन्द्रित हुनुपरेकाले कुनै पनि सामग्री निकाल्न नसकेको बताइन्। उनका अनुसार अब औषधि पुनः कसरी जुटाउने र परिवारको दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ता थपिएको छ।
होल्डिङ सेन्टरकी अर्की बासिन्दा रस्मिला उप्रेतीले पनि आफू उपचाररत बिरामी भएको र नियमित सेवन गर्ने औषधि बाढीले नष्ट गरिदिएको बताइन्। रातिको आकस्मिक अवस्थाले औषधि तथा आवश्यक सामग्री जोगाउने अवसर नदिएको उनको भनाइ छ।
राजकुमार माझीले समेत खानेकुरा, औषधि र दैनिक आवश्यक सामग्री सबै गुमेको बताए। आर्थिक अवस्था कमजोर रहेकाले तत्काल पुनः व्यवस्थापन गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ। उनले राज्यले उचित तयारीबिना बस्ती हटाएको आरोप लगाउँदै विस्थापित परिवारहरूको दीर्घकालीन व्यवस्थापनबारे स्पष्ट योजना सार्वजनिक गर्न माग गरे।
सुकुमवासीहरूका अनुसार थापाथली, गैरीगाउँलगायत स्थानबाट हटाइएपछि उनीहरूको रोजगारी, सामाजिक सञ्जाल र जीवनयापनको आधारसमेत प्रभावित भएको थियो। अहिले बाढीले बाँकी रहेको न्यूनतम सम्पत्ति समेत नष्ट गरेपछि उनीहरू थप असुरक्षित र अन्योलपूर्ण अवस्थामा पुगेका छन्।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापासहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्सारीले आफूहरूलाई कुटपिट र दुव्र्यवहार गर्दै नियन्त्रणमा लिइएको आरोप लगाएका छन्। उनका अनुसार नियन्त्रणका क्रममा आफू घाइते समेत भएका छन्। उनीहरूलाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको बताइएको छ।
होल्डिङ सेन्टर डुबानमा परेपछि उठेको मुख्य प्रश्न भने पुनस्र्थापनाको नाममा विस्थापित गरिएका परिवारहरूलाई राज्यले दिएको आश्रय नै किन सुरक्षित हुन सकेन भन्ने हो। बाढीपछि उद्धार कार्य सम्पन्न भए पनि दीर्घकालीन बसोबास, क्षतिपूर्ति, खाद्यान्न, स्वास्थ्य सेवा र पुनःस्थापनाको विषय अझै अनुत्तरित रहेको देखिन्छ।

