फेरि आत्म*दाह प्रयासः रौतहटका २८ वर्षीय गौतम सहनीले शरीरमा पेट्रोल छर्किएर आफैंलाई आगो लगाए
जनकपुर– देशभर आत्मदाहका घटनाबारे गम्भीर बहस चलिरहेका बेला रौतहटमा फेरि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। रौतहटको गरुडा नगरपालिका–९ गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
पछिल्लो एक साताभित्र सार्वजनिक भएको यो चौथो आत्मदाह प्रयासको घटना हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनापछि गम्भीर घाइते भएका सहनीलाई तत्काल गरुडास्थित अस्पतालमा पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ। प्रहरीका अनुसार उनको घाँटीदेखि तलसम्मको करिब ३१ देखि ३१.५ प्रतिशत शरीर जलेको छ।
रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सहनीको अवस्था मध्यम रहेको छ। उनले आत्मदाहको प्रयास किन गरे भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार परिवारले सहनी लामो समयदेखि मानसिक तनावमा रहेको र अत्यधिक मदिरा सेवन गर्ने गरेको जानकारी दिएको छ। यद्यपि आत्मदाह प्रयासको वास्तविक कारणबारे आधिकारिक निष्कर्षमा पुग्न बाँकी रहेको प्रहरीले स्पष्ट पारेको छ।
रौतहटको यो घटनाले पछिल्लो समय देखिएको आत्मदाहको श्रृंखलाप्रति थप चिन्ता बढाएको छ। केही दिनयता मुलुकका विभिन्न स्थानमा भएका यस्तै घटनामा तीन जनाले ज्यान गुमाइसकेका छन्।
मुगुका २५ वर्षीय गणेश नेपालीले गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। राहदानी बनाउन काठमाडौं आएका उनी महानगर प्रहरीसँगको विवादपछि आत्मदाहमा उत्रिएको विषयले राष्ट्रिय बहस जन्माएको थियो।
त्यसपछि काठमाडौं महानगरपालिका–१० बुद्धनगरका ४५ वर्षीय व्यवसायी आश्विन राउतले आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेको थियो। उपचारकै क्रममा उनको पनि मृत्यु भयो। प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद देखिए पनि परिवारजनले आर्थिक, स्वास्थ्य र अन्य तनावका कारणसमेत घटना भएको हुन सक्ने बताएका छन्।
यस्तै, सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले गत शुक्रबार आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ९० प्रतिशत भाग जलेका उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगेर उपचार गरिएको थियो। तर कीर्तिपुर बर्न अस्पतालमा उपचारकै क्रममा उनको पनि मृत्यु भयो।
प्रहरीका अनुसार विवेक मण्डल विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका व्यक्ति थिए। प्रारम्भिक अनुसन्धानमा उनी बेरोजगारी, आर्थिक अभाव र मानसिक तनावसँग संघर्ष गरिरहेको देखिएको छ।
रौतहटका गौतम सहनीको घटनासँगै छोटो अवधिमा आत्मदाह प्रयासका घटना लगातार दोहोरिन थालेपछि यसले सामाजिक, आर्थिक र मानसिक स्वास्थ्यसम्बन्धी प्रश्नलाई पुनः केन्द्रमा ल्याएको छ। यद्यपि चारवटै घटनाको कारण फरक–फरक हुन सक्ने भएकाले प्रत्येक घटनाबारे छुट्टाछुट्टै अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
आत्मदाह प्रयास गरेका गौतम सहनीको उपचार जारी रहेको छ भने घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

