सिरहामा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लहान— नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध हतियार ओसारपसार नियन्त्रणका लागि प्रहरीले चेकजाँच कडा बनाइरहेका बेला सिरहाबाट एक भारतीय नागरिक कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित पक्राउ परेका छन्।

सिरहा नगरपालिका–७ मा गरिएको नियमित सुरक्षा जाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको हतियार फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव छन। उनी सवार रहेको भारतीय नम्बर प्लेटको बीआर०७एजेड४२१५ नम्बरको मोटरसाइकलमा विशेष निगरानीसहित गरिएको चेकजाँचका क्रममा एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोली बरामद भएको हो।

प्रहरीका अनुसार बरामद गरिएको हतियार मोटरसाइकलभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा हतियार कहाँबाट ल्याइएको, कुन प्रयोजनका लागि बोकेको थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषय खुल्न बाँकी छ।

पक्राउ परेका यादवलाई बरामद गरिएको कटुवा पेस्तोल, गोली तथा मोटरसाइकलसहित नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अनुसन्धानका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने सुरक्षा अधिकारीहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट