सप्तरीमा मोटरसाइकलको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु, बालकलाई बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ
राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक १४ वर्षीय बालकको मृत्यु भएपछि घटनामा संलग्न रहेको आशंकामा एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि घाइते बालकलाई मोटरसाइकलमै राखेर लैजाँदै गरेको अवस्थामा स्थानीयको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भारतको बिहार राज्य, मधुवनी जिल्ला, खतौनी पिपरारी निवासी २८ वर्षीय मो. सादरलाई बुधबार नियन्त्रणमा लिइएको हो।
उनी सवार मोटरसाइकलले शम्भुनाथ नगरपालिका–६ कठौना बजार क्षेत्रमा साइकल यात्रीलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मो. सदामाका १४ वर्षीय छोरा मो. सादिकलाई उपचारका लागि राजविराजस्थित अस्पताल ल्याइएको थियो।
तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार दुर्घटनापछि घाइते बालकलाई मोटरसाइकलमा राखेर घटनास्थलबाट लैजाने प्रयास गरिएको देखिएपछि स्थानीय बासिन्दाले शंका गरी पछ्याएका थिए।
त्यसक्रममा प्रहरीलाई समेत जानकारी गराइएपछि सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिइएको उनले घिमिरेले वताए। प्रहरीका अनुसार घटनाको प्रकृति, दुर्घटनापछिको गतिविधि तथा उपलब्ध प्रमाणका आधारमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धान निष्कर्षमा पुगेपछि कुन कानुनी शीर्षकअन्तर्गत मुद्दा दर्ता गर्ने भन्ने विषयमा निर्णय गरिने प्रहरीको भनाइ छ।
दुर्घटनामा प्रयोग भएको मोटरसाइकल, चालकको भूमिका तथा घटनापछिको अवस्थाबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। बालकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

