मिडियाको मुख थुन्न गेटमा गाडी तेर्स्याईएको घट्नामा प्रहरीको भूमिकामाथि महासंघ अध्यक्ष शर्माको गम्भीर आशंका

काठमाडौँ— नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले राजधानीका प्रमुख सञ्चारगृहका प्रवेशद्वारमा शंकास्पद रूपमा गाडी पार्क गरेर अवरोध सिर्जना गरिएको घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठाएकी छिन्। घटनाको कुनै गम्भीर अनुसन्धान नगरी सम्बन्धित गाडी र व्यक्तिलाई छोडिएको भन्दै उनले प्रहरीसमेत यस प्रकरणमा जोडिएको देखिएको आरोप लगाएकी हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै अध्यक्ष शर्माले सञ्चारमाध्यमलाई लक्षित गरेर गरिएको गतिविधिलाई सामान्य पार्किङको विषयका रूपमा लिन नसकिने बताएकी छिन्। ‘शंकास्पद रूपमा मिडिया अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीको कुनै पनि अनुसन्धानबिना दोषी प्रमाण फिर्ता गर्नुले यो विषयमा प्रहरीसमेत जोडिन पुगेको छ,’ उनले लेखेकी छिन्। उनले घटनाको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरेकी छिन्।

महासंघ अध्यक्षको यो अभिव्यक्तिसँगै असार २९ गते राजधानीका तीन प्रमुख सञ्चारगृहको गेटअगाडि गाडी तेर्स्याएर राखिएको घटनाले नयाँ राजनीतिक र संस्थागत बहस जन्माएको छ। पत्रकार महासंघले यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरिरहेको छ भने प्रहरी र सरकारमाथि घटनालाई हल्का रूपमा लिएको आरोप लाग्न थालेको छ।

घटनाअनुसार असार २९ गते बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजन र बुद्धनगरस्थित अनलाइनखबरको कार्यालय प्रवेशद्वारमै सवारीसाधन पार्क गरिएका थिए। सञ्चारगृहका गेट नै अवरुद्ध हुने गरी राखिएका ती गाडीबारे अनुसन्धान गर्दा तीमध्ये केही गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध व्यक्तिहरूले प्रयोग गर्दै आएको खुलेको थियो।

कान्तिपुरको गेटअगाडि पार्क गरिएको गाडी रास्वपाका केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभाग सदस्य रवि जैसवालले प्रयोग गर्दै आएको खुलेको थियो। जैसवाललाई तत्कालीन महामन्त्री भूपदेव साहले मनोनयन गरेका थिए। यस्तै अनलाइनखबरअगाडि राखिएको गाडी गोकर्णेश्वर निवासी सुनिल पौडेलको नाममा दर्ता भए पनि प्रयोगकर्ता उनका दाजु तथा रास्वपा गतिविधिमा सक्रिय सुजन पौडेल रहेको बताइएको छ। हिमालय टेलिभिजनअगाडि पार्क गरिएको गाडी राजीवकाजी श्रेष्ठको नाममा रहेको देखिएको थियो।

घटनाले राजनीतिक तरंग सिर्जना गरेपछि रास्वपा सभापति रवि लामिछानेले समेत चासो दिएका थिए। पार्टी स्रोतका अनुसार उनले गृहमन्त्री सुधन गुरुङसँग घटनाबारे जानकारी मागेका थिए। त्यसपछि रास्वपाले औपचारिक विज्ञप्ति जारी गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित गतिविधिको भर्त्सना गरेको थियो।

विज्ञप्तिमा घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न सरकार र सुरक्षा निकायसँग माग गरिएको थियो।

तर, घटनामा जोडिएका गाडीहरूलाई प्रहरीले सामान्य ट्राफिक कारबाही गरेर छाडेपछि प्रश्नहरू झन् गहिरिएका छन्। महासंघ अध्यक्ष शर्माको आरोप पनि यही बिन्दुमा केन्द्रित छ। उनको तर्क छ—यदि सञ्चारगृहको प्रवेशद्वार लक्षित गरी योजनाबद्ध रूपमा अवरोध सिर्जना गरिएको थियो भने त्यसलाई केवल ट्राफिक नियम उल्लंघनको रूपमा सीमित गर्न मिल्दैन।

यसैबीच रास्वपाका नेता मनिष झाले पनि घटनाको विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यलाई ‘बचपना’ र ‘स्तरहीन’ हर्कतको संज्ञा दिँदै संलग्नहरूमाथि अनुसन्धान र कारबाहीको माग गरेका छन्।

घटनाले अन्तर्राष्ट्रिय चासोसमेत तानेको छ। इन्टरनेशनल युनियन अफ जर्नालिस्ट (आईयुजे) ले विज्ञप्ति जारी गर्दै नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो दबाबप्रति चिन्ता व्यक्त गरेको छ। संघले कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा अवरोध सिर्जना गरिएको घटनालाई स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेपको संकेतका रूपमा व्याख्या गरेको छ।

सञ्चारगृहका गेटअगाडि राखिएका गाडी हटिसकेका छन्। तर, ती गाडी कसले, किन र कुन उद्देश्यले त्यहाँ पुर्‍यायो भन्ने प्रश्न अझै अनुत्तरित छ। पत्रकार महासंघले संसदीय छानबिनको माग गरिरहेको छ भने प्रहरीमाथि उठेको आरोपले घटनालाई सामान्य ट्राफिक उल्लंघनबाट प्रेस स्वतन्त्रता, राज्य संयन्त्र र राजनीतिक जिम्मेवारीसँग जोडिएको राष्ट्रिय बहसमा रूपान्तरण गरिदिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट