पुलको डिजाइन पास र भुक्तानी मिलाइदिने भन्दै ६ लाख घुस लिने इलामका इञ्जिनियर झापाको होटलबाट पक्राउ
काठमाडौँ— पुल निर्माण योजनाको रिडिजाइन स्वीकृत गराइदिने र ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको आरोपमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इञ्जिनियर डिल्लीराज खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारले उनलाई सेवाग्राहीबाट घुस रकम बुझिसकेको अवस्थामा झापाको दमकस्थित एक खाजाघरबाट पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत छैटौं तहका इञ्जिनियर खड्काविरुद्ध पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने नाममा सेवाग्राहीलाई दुःख र हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरी परेको थियो।
उक्त सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र आयोगको कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा इञ्जिनियर खड्काले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनलाई रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार खड्कालाई बुधबार झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट पक्राउ गरिएको हो। पक्राउका बेला उनीसँग सेवाग्राहीबाट लिएको ६ लाख रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार पुल निर्माणसँग सम्बन्धित प्राविधिक प्रक्रिया र भुक्तानी व्यवस्थापनमा आफ्नो प्रभाव प्रयोग गरिदिने आश्वासन दिएर इञ्जिनियर खड्काले रकम मागेका थिए। सेवाग्राहीले दिएको उजुरीपछि अख्तियारले विशेष निगरानी थालेको थियो।
पक्राउ परेका इञ्जिनियर खड्कामाथि भ्रष्टाचार निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने आयोगको भनाइ छ।
स्थानीय तहमा विकास निर्माणसँग सम्बन्धित योजनाहरूको स्वीकृति, डिजाइन परिवर्तन र भुक्तानी प्रक्रियामा हुने अनियमिततामाथि अख्तियारले पछिल्लो समय निगरानी बढाइरहेका बेला यो पक्राउलाई महत्त्वपूर्ण कारबाहीका रूपमा हेरिएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

