सामाजिक सञ्जालको ट्रोल सहन नसकेर वहालवाला सांसदले नै दुई पटक आत्महत्या प्रयास गरेको खुलासा

काठमाडौँ— सामाजिक सञ्जालमा आफूविरुद्ध भएको व्यापक ट्रोल, आलोचना र अपमानजनक टिप्पणी सहन नसकेर वहालवाला सांसदले नै दुई पटक आत्महत्याको प्रयास गरेको खुलासा भएको छ।

नेपाली कांग्रेसकी सांसद सीता (उर्मिला) थपलियाले बुधबार संसद्को बैठकमा बोल्दै सामाजिक सञ्जालबाट सिर्जित मानसिक दबाबका कारण आफूले दुई पटक आत्महत्या गर्ने प्रयास गरेको सार्वजनिक गरेकी हुन्।

प्रतिनिधिसभाको बैठकमा आफ्नो अनुभव सुनाउँदै सांसद थपलियाले केही दिनअघि संसदमा उठाएको एउटा विषयपछि सामाजिक सञ्जालमा आफूविरुद्ध भएको ट्रोलले आफूलाई मानसिक रूपमा अत्यन्तै विचलित बनाएको बताइन्। उनका अनुसार उक्त घटनापछि भएको निरन्तर आक्रमण, आलोचना र व्यंग्य सहन नसक्दा उनी गम्भीर मानसिक संकटमा पुगेकी थिइन्।

‘त्यो ट्रोल सहन नसकेर म एकदमै विच्छिप्त भएकी थिएँ। यो अवधिमा मैले दुई पटक आत्महत्या गर्ने कोसिस गरेँ,’ संसदमा बोल्दै उनले भनिन्। सांसद थपलियाले केही दिनअघि कांग्रेस प्रमुख सचेतक बासना थापासँग मिलेर २४ घण्टाभित्र तीन जना युवाले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको प्रसंग उल्लेख गरिन्।

उनले जनताको पीडासँग जोडिएको गम्भीर विषयलाई संसदमा उठाउँदा अपनाइएको शैलीलाई लिएर सामाजिक सञ्जालमा आफूहरूलाई लक्षित गरी व्यापक ट्रोल गरिएको बताइन्। उनका अनुसार सरकारलाई संवेदनशील बनाउन र नागरिकका गम्भीर समस्यातर्फ ध्यानाकर्षण गराउन सांसदहरूले फरक शैलीमा पनि आवाज उठाउनुपर्ने अवस्था आउन सक्छ।

त्यसबेला आफूहरू दुई सांसद मात्र नभई संसद्का सयौं सांसदले पनि एउटै विषयमा आवाज उठाउन सक्ने भन्दै उनले सामाजिक सरोकारका विषयलाई राजनीतिक वा व्यक्तिगत आक्रमणको विषय बनाइनु दुःखद भएको धारणा राखिन्।

सांसद थपलियाले सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगबारे गम्भीर समीक्षा आवश्यक रहेको बताइन्। अभिव्यक्ति स्वतन्त्रताको माध्यमका रूपमा विकसित भएका डिजिटल प्लेटफर्महरू कतिपय अवस्थामा व्यक्तिलाई मानसिक रूपमा प्रताडित गर्ने र सार्वजनिक रूपमा अपमानित गर्ने हतियारका रूपमा प्रयोग भइरहेको उनको भनाइ थियो।

‘सामाजिक सञ्जाल कसरी प्रयोग भइरहेको छ र कसरी दुरुपयोग भइरहेको छ भन्ने विषयमा हामी सबैले सोच्नुपर्छ,’ उनले संसदमा भनिन्। उनले विशेषगरी सार्वजनिक जीवनमा रहेका महिलामाथि हुने टिप्पणी, आलोचना र सामाजिक परीक्षणको स्वरूपबारे पनि प्रश्न उठाइन्। आफ्नो भनाइको अन्त्यमा उनले महिलाले इतिहासदेखि नै बारम्बार परीक्षा दिनुपरेको प्रसंग उल्लेख गर्दै भनिन्, ‘सत्ययुगकी सीतादेखि कलियुगकी सीतासम्म यो समाजमा कति पटक अग्निपरीक्षा दिनुपर्छ? म त्यसका लागि तयार छु।’

सांसद थपलियाको यो खुलासाले संसद्भित्र र बाहिर सामाजिक सञ्जालको प्रभाव, साइबर दुव्र्यवहार, ट्रोल संस्कृति तथा त्यसले व्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने असरबारे नयाँ बहस सुरु गराएको छ। विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिहरूसमेत डिजिटल आक्रमणबाट गम्भीर मानसिक संकटमा पुग्न सक्ने तथ्य उनले संसदमै उजागर गरेपछि सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र अनलाइन दुव्र्यवहार नियन्त्रणबारे थप बहस आवश्यक भएको आवाज उठ्न थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट