८ लाख बढी घुस रकमसहित सिँचाइ डिभिजनका दुई अधिकृत प्रमुखको सरकारी क्वाटरबाट पक्राउ

जनकपुर– सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ मा रहेको डिभिजन प्रमुखको सरकारी क्वाटरबाट उनिहरुलाई पक्राउ गरेको हो। क्वाटरमा छापा मार्दा सेवाग्राहीबाट लिइएको भनिएको रकम बरामद भएपछि दुवै अधिकारीलाई नियन्त्रणमा लिई भ्रष्टाचारसम्बन्धी अनुसन्धान अघि बढाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी निकासाका लागि पहल गर्दा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेको आरोप छ।

आयोगका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार सेवाग्राहीबाट मेकानिकल अधिकृत तुलाकान्त चौधरीले ७ लाख ५० हजार रुपैयाँ बुझेर उक्त रकम डिभिजन प्रमुख अनुपमा ढकालको सरकारी क्वाटरमा पु¥याएका थिए। त्यसलगत्तै अख्तियारको टोलीले क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफामै उक्त रकम फेला पारेको हो।

खानतलासीका क्रममा सेवाग्राहीबाट लिइएको भनिएको रकमबाहेक स्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ। यससँगै घटनास्थलबाट कुल ८ लाख २१ हजार ११५ रुपैयाँ नियन्त्रणमा लिइएको छ।

अख्तियारका अनुसार बरामद रकम, घटनास्थलबाट संकलित प्रमाण तथा प्रारम्भिक अनुसन्धानका आधारमा डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ। उनीहरूमाथि भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार घुस रकम बोरिङ तथा मोटर जडान कार्य सम्पन्न गरेका जल उपभोक्ता समितिको भुक्तानी प्रक्रियासँग सम्बन्धित रहेको खुलेको छ। अख्तियारले घटनासँग सम्बन्धित थप कागजात, आर्थिक कारोबार तथा अन्य सम्भावित संलग्नताबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट