४ वर्षीया बालिकाको हत्या आरोपमा एक महिना पछि पक्राउ परे ५९ वर्षीय स्थानीय

विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–९ मा मृत अवस्थामा फेला परेकी ४ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीले एक महिनापछि ५९ वर्षीय स्थानीयलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा स्थानीय जान महमद मन्सुरीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन २० गते सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोल निवासी ५९ वर्षीय जान महमद मन्सुरीलाई उनकै घरबाट पक्राउ गरिएको हो। मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूर मुद्दामा पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत साउन ८ गते सोही स्थानका जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन गाउँ नजिकैको घाँसबारी (घाँसीबारी) भित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा संकलित प्रमाण र तथ्यका आधारमा जान महमद मन्सुरी उक्त घटनामा संलग्न रहेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले हाल घटनाको उद्देश्य, घटनाको प्रकृति तथा अन्य सम्भावित पक्षबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ।

प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले यस चरणमा थप विवरण सार्वजनिक नगरिएको पनि जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट