सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा, एनसेल प्रतिवेदन सार्वजनिक गर्ने निर्णय
काठमाडौँ— सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै चारजनालाई सहिद घोषणा गरिएको जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको २०८० को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। एनसेलको सेयर कारोबारसम्बन्धी विवाद र त्यसबारे सरकारी अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयलाई बैठकको अर्को महत्वपूर्ण निर्णयका रूपमा लिइएको छ।
बैठकले नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
त्यसैगरी, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय भएको छ। मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

