होम ट्युसनका क्रममा दुई बालिकामाथि यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ
काठमाडौँ— नवलपुरको गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका शिक्षक मुरारी तिमिल्सिना दुई बालिकालाई ‘होम ट्युसन’ पढाउने क्रममा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
४६ वर्षीय तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले भदौ ६ गते नियन्त्रणमा लिएको हो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले जिल्ला अदालतबाट बाल यौन दुव्र्यवहारसम्बन्धी मुद्दामा ६ दिनको म्याद लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता अनिल पण्डितका अनुसार घटना भदौ ३ गतेतिर भएको प्रारम्भिक जानकारीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। उनका अनुसार तिमिल्सिनालाई नियन्त्रणमा लिएपछि बाल यौन दुव्र्यवहारसम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइएको छ।
‘घटना भदौ ३ गतेतिरको रहेछ। हामीले ६ गते नियन्त्रणमा लिएर बाल यौन दुव्र्यवहार मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’ प्रवक्ता पण्डितले भने। प्रहरीका अनुसार तिमिल्सिनामाथि विद्यालयमा अध्ययनरत दुई बालिकालाई घरमै ट्युसन पढाउने क्रममा यौन दुव्र्यवहार गरेको आरोप छ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै शिक्षकलाई नियन्त्रणमा लिएको हो। आरोपको वास्तविकता र घटनाको सम्पूर्ण विवरण अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।
घटना सार्वजनिक भएपछि विद्यालयले पनि आरोपित शिक्षकलाई सेवाबाट हटाएको जनाएको छ। विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले विज्ञप्तिमार्फत् घटनाबारे जानकारी पाएलगत्तै विद्यालय व्यवस्थापन समिति, प्रशासन र अभिभावकहरूसँग छलफल गरी तिमिल्सिनालाई तत्काल प्रभावबाट विद्यालय सेवाबाट निष्कासन गरिएको जानकारी दिएका छन्।
विद्यालयले घटनामा संलग्न भनिएका शिक्षकलाई कुनै प्रकारको जिम्मेवारीमा नराख्ने निर्णय गरेको जनाएको छ। कँडेलका अनुसार विद्यालयले घटनाको जानकारी पाएपछि सम्बन्धित पक्षसँग छलफल गरेर बर्खास्तीको निर्णय गरेको हो।
‘घटनाको जानकारी पाउनासाथ विद्यालय व्यवस्थापन समिति, प्रशासन तथा अभिभावकहरूसँग घनिभूत छलफल गरी शिक्षकलाई विद्यालयको सेवाबाट तत्काल प्रभावले बर्खास्त गरिसकिएको छ,’ कँडेलले विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रहरीले घटनामा संलग्न भनिएका शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेकाले आरोप, घटनाको प्रकृति र अन्य सम्बन्धित पक्षबारे अनुसन्धानपछि थप विवरण स्पष्ट हुने जनाएको छ। बालिकाहरूको पहिचान भने गोप्य राखिएको छ।

