३ वर्षीया बालिका बलात्कार–हत्या प्रकरणः जापानबाट सार्वजनिक भयो भिडियो, हवल्दार हिरासतमा, ४ प्रहरीमाथि कारबाही

बारा — सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका क्रममा रहेका किशोरको स्वास्थ्य परीक्षणका बेला खिचिएको भिडियो सार्वजनिक गर्ने घटनामा एक प्रहरी हवल्दार पक्राउ परेका छन् भने थप चार प्रहरीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्नेमा प्रहरी हवल्दार कुमार विक छन्। उनलाई फौजदारी कसुरमा जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा घटनाबारे गठित छानबिन समितिका संयोजक एसएसपी प्रभुप्रसाद ढकालका अनुसार कलैया अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा अभियुक्त किशोरको चिकित्सकले स्वास्थ्यसम्बन्धी जानकारी लिइरहेको दृश्यको भिडियो मोबाइलमा खिचेर बाहिर ल्याएको घटनामा प्रहरी कर्मचारीहरूको संलग्नता देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

एसएसपी ढकालका अनुसार हवल्दार विकविरुद्ध फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ भने अन्य चार प्रहरी कर्मचारीमाथि विभागीय कारबाहीको प्रक्रिया सुरु भएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेकाले नाम र दर्जा तत्काल सार्वजनिक नगरिएको उनले बताए।

‘प्रहरी हबल्दारमाथि फौजदारी कसुर र अन्य चार प्रहरीमाथि विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको छ,’ ढकालले भने, ‘चार प्रहरीबारे थप अनुसन्धान भइरहेकाले नाम खुलाउन मिल्दैन। उनीहरूको भूमिका के थियो र कुन दर्जाका को–को हुन् भन्ने पछि खुल्नेछ।’

छानबिन समितिले घटनामा संलग्न सबैसँग बयान लिएको जनाएको छ। पक्राउ परेका हवल्दार विकले उक्त भिडियो जापानमा बस्ने आफ्ना एक साथीलाई पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले बताए। घटनामा संलग्न प्रहरी कर्मचारीको भूमिकाबारे थप प्राविधिक परीक्षण भइरहेको उनले जानकारी दिए।

‘सबैको प्राविधिक जाँच भइरहेको छ,’ ढकालले भने। विक लामो समय पर्सा जिल्ला प्रहरी कार्यालय वीरगन्जअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा काजमा कार्यरत थिए। केही साताअघि मात्रै उनी आफ्नो दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयमा फर्किएका थिए। अभियुक्त किशोरलाई स्वास्थ्य परीक्षणका लागि कलैया अस्पताल लैजाने दिन भने विक कार्यालयमा ड्युटीमा थिए।

अभियुक्तलाई अस्पताल लैजाने प्रहरी टोलीको गाडीमा बसेर विक पनि कलैया अस्पताल पुगेका थिए। त्यही क्रममा ओसीएमसीमा चिकित्सकले अभियुक्त किशोरसँग जानकारी लिइरहेको दृश्य मोबाइलमा रेकर्ड गरिएको र पछि उक्त भिडियो बाहिरिएको अनुसन्धान समितिले जनाएको छ।

तीन वर्षीया बालिका साउन ३१ गते घरबाट हराएकी थिइन्। उनको शव गत मंगलबार साँझ बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो। घटनापछि दोषीलाई कानुनी कारबाहीको माग गर्दै बारामा आन्दोलन चर्किएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक किशोरलाई अभियुक्तका रूपमा नियन्त्रणमा लिएको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा छन्। यसैबीच, घटनापछि बालिकाको परिवार र सरकारबीच काठमाडौँमा तीनबुँदे सहमति भएको थियो। सहमतिपछि आइतबार बालिकाको शव धार्मिक तथा सामाजिक परम्पराअनुसार कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोला किनारमा अन्त्येष्टि गरिएको छ। बालिकाको पार्थिव शरीरमा उनका बुबाले दागबत्ती दिएका थिए।

बालिकाको हत्या प्रकरणसँगै अनुसन्धानको संवेदनशील चरणमा अभियुक्तसँग सम्बन्धित भिडियो प्रहरीबाटै बाहिरिएको विषयले छुट्टै विवाद सिर्जना गरेको छ। छानबिन समितिले भिडियो कसरी खिचियो, कसले बाहिर पठायो र अन्य प्रहरी कर्मचारीको भूमिका के थियो भन्ने विषयमा प्राविधिक तथा विभागीय अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट