रसुवाको बाढी गल्छी पार गर्दै गजुरी–मलेखुतर्फ, पक्की पुलसमेत बगायो, हिमताल फुटेको प्रारम्भिक निष्कर्ष
काठमाडौँ– रसुवाबाट त्रिशूली नदीमा आएको भीषण बाढी धादिङको गल्छी पार गरेर गजुरी तथा मलेखु क्षेत्रतर्फ पुगेको छ । बाढीले धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ केउरेनी जोड्ने पक्की पुल बगाएपछि त्रिशूली तटीय क्षेत्रमा थप जोखिम बढेको छ ।
बाढीको प्रारम्भिक कारण हिमताल फुटेर वा हिमपहिरोका कारण थुनिएको नदी एक्कासि खुलेको हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले रसुवा बाढीबाट उत्पन्न संकट र सम्भावित जोखिम नियन्त्रणका उपायबारे छलफल गरेको छ । बैठकपछि प्राधिकरणकी एक सदस्यले बाढी धादिङको गल्छीसम्म आइपुगेको जानकारी प्राप्त भएको बताइन् ।
उनका अनुसार बाढीका कारण नेपाल टेलिकम (एनटीसी) र एनसेलका सञ्चार टावरमा समेत क्षति पुगेकाले प्रभावित क्षेत्रको यकिन अवस्था तत्काल प्राप्त हुन सकेको छैन । सञ्चार सम्पर्कमा समस्या देखिएपछि क्षतिको विवरण संकलन र उद्धार कार्य प्रभावित भएको छ ।
संकटग्रस्त क्षेत्रमा उद्धारका लागि तीनवटा हेलिकोप्टर परिचालन गरिएको उनले जानकारी दिइन् । प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार तथा सम्भावित जोखिममा रहेका बस्तीको अवस्थाबारे जानकारी संकलन गर्ने कामलाई प्राथमिकता दिइएको छ ।
प्राधिकरणले प्रारम्भिक रूपमा हिमताल फुटेको वा हिमपहिरोका कारण नदी थुनिएर एक्कासि खुलेपछि भीषण बाढी आएको हुन सक्ने अनुमान गरेको छ । प्राधिकरणकी सदस्यका अनुसार बाढी बिहान करिब ८ः४० बजे नेपाल प्रवेश गरेको र त्यसको सूचना बिहान ९ बजे प्राधिकरणमा प्राप्त भएको थियो ।
‘हिम पहिरोले नदी थुनिएको थियो । थुनिएको नदी खुलेको भएर एक्कासि बाढी आएको प्रारम्भिक अनुमान छ,’ उनले भनिन् । यद्यपि बाढीको वास्तविक कारणबारे विस्तृत अध्ययन र प्राविधिक पुष्टि हुन बाँकी छ । हिमताल फुटेको प्रारम्भिक निष्कर्षलाई थप तथ्य तथा प्राविधिक अध्ययनबाट पुष्टि गर्नुपर्ने अवस्था रहेको छ ।
प्राधिकरणकी सदस्यले सीमापारि उत्पन्न हुन सक्ने यस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि चीनसँग समेत समन्वय आवश्यक रहेको बताइन् । नेपाल र चीनबीच समझदारीपत्र (एमओयू) गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, रसुवातर्फबाट आएको बाढीले धादिङमा त्रिशूली नदीमाथिको महत्वपूर्ण पक्की पुलसमेत बगाएको छ । गल्छी गाउँपालिका–१ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ केउरेनी जोड्ने पुल बाढीको तीव्र बहावले बगाएको हो ।
बाढीले त्रिशूली नदी आसपास रहेका केही झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको छ । पुल तथा सडक संरचनामा क्षति पुगेसँगै धादिङ र नुवाकोटबीचको स्थानीय आवागमनसमेत प्रभावित भएको छ ।
बाढी गल्छी क्षेत्र पार गरेर गजुरी र मलेखुतर्फ अघि बढेपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम थप बढेको छ । नदी किनारका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ ।
यसअघि रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पु¥याएको थियो । बाढीको बहाव तल्लो तटीय क्षेत्रमा फैलिँदै गएपछि रसुवाबाट धादिङ हुँदै नुवाकोट, गोरखा र चितवनसम्म त्रिशूली नदी आसपासका क्षेत्रमा समेत सतर्कता बढाइएको छ ।
सञ्चार संरचनामा क्षति र प्रभावित क्षेत्रका कतिपय स्थानमा सम्पर्क कठिन रहेकाले रसुवा र आसपासमा भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण अझै संकलन हुन सकेको छैन । उद्धार, खोजी तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

