बाढीले बगाएको शवको कानबाट सुनको मुन्द्रा लुछ्ने सुनसरीका उमेश चौधरीसहित दुई जना पक्राउ

चितवन– रसुवाको बाढीले बगाएर चितवन ल्याएको शवबाट कानमा रहेको सुनको मुन्द्रा निकाल्दै गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा पहिचान गरिएका उनीहरूलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१, लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५, चाँदबेला घर भई भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन्।

चितवनका एसपी रामेश्वर पौडेलका अनुसार बाढीले बगाएर ल्याएको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको दृश्य सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीले त्यसै भिडिओलाई आधार बनाएर घटनामा संलग्न व्यक्तिको पहिचान गरेको थियो।

पहिचानपछि प्रहरीले गुरुङ र चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि घटनाको प्रकृति, उनीहरूको संलग्नता तथा सुनको मुन्द्रासहितका सामग्रीबारे थप अनुसन्धान भइरहेको एसपी पौडेलले बताए।

रसुवामा आएको बाढीपछि बगाएर ल्याइएका शव चितवन क्षेत्रमा समेत फेला परिरहेका बेला मृतकको शवबाट गरगहना निकालिएको घटना सार्वजनिक भएको हो। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओलाई अनुसन्धानको आधार बनाएर आरोपितसम्म पुगेको जनाएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि अनुसन्धान अघि बढाएको भए पनि घटनामा उनीहरूको भूमिका र लागू हुने कानुनी कसुरबारे अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण स्पष्ट हुने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट