भोटेकोशीको कहर : १६२ शव भेटिए, अझै सयौँ बेपत्ता, आठ जिल्ला शोकमा
काठमाडौँ– रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको आकस्मिक बाढीले देशका आठ जिल्लासम्म जनधनको क्षति पु¥याएको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी विवरणअनुसार १६२ जनाको शव फेला परिसकेका छन, जबकि रसुवामा मात्रै २८ प्रहरीसहित सयौँ मानिस अझै सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जना छन्। यसअघि रातिसम्म १५७ शव फेला परेको विवरण सार्वजनिक भएको थियो। पछिल्लो पाँच घण्टामा थप पाँच शव फेला परेका हुन्।
बाढीको मूल केन्द्र रसुवाको टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसी र मैलुङ क्षेत्र भए पनि यसको प्रभाव त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीसम्म पुगेको छ। तटीय बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा सरकारी र निजी संरचनामा व्यापक क्षति भएको प्रारम्भिक विवरण छ।
बुधबार बिहान पौने ९ बजेतिर टिमुरे बजारमा अवस्था सामान्य थियो। रसुवागढी भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले अचानक जमिन हल्लिएको महसुस गरे। भूकम्प आएको ठानेर उनी कार्यालयबाट बाहिर निस्किए। तर बाहिर निस्कँदा उनले देखेको दृश्य भूकम्पको थिएन।
माथिल्लो भागबाट धूवाँको ठूलो मुस्लोसहित करिब सय मिटर उचाइको छालजस्तो पानी बजारतर्फ वेगले आइरहेको थियो। केही क्षणमै बाढीले टिमुरे बजारमा रहेका संरचना बगाउन थाल्यो। ढुंगानासहित स्थानीयहरू ज्यान जोगाउन जंगलतर्फ भागेका थिए।
नेपाल–चीन सीमाको रसुवागढी क्षेत्रबाट सुरु भएको बाढीले केही समयमै तल्लो तटीय क्षेत्र समातेको थियो। टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसी, मैलुङलगायत एक दर्जनभन्दा बढी बस्तीमा ठूलो क्षति भएको छ।
बाढीपछि रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ प्रहरीमध्ये ३२ जना सम्पर्कमा आएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार २८ प्रहरी अझै सम्पर्कविहीन छन्।
१९ पुल र ४० किलोमिटर सडकमा क्षति
बाढीले मानवीय क्षतिसँगै यातायात पूर्वाधारमा समेत ठूलो असर पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार १९ वटा मोटरेबल पुल र करिब ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन्।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार पाँचवटा बेलिब्रिजसमेत बाढीले बगाएको छ। जोखिमका कारण मुग्लिन–नारायणगढ सडक बन्द गरिएको छ। रसुवाका नौवटा जलविद्युत् केन्द्रमा क्षति पुगेको र त्यहाँ कार्यरत करिब ६० कर्मचारी सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। नौवटा वाणिज्य बैंकका शाखासमेत बाढीले बगाएको तथा ती शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
नुवाकोटको बिदुर नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र नेपालका अनुसार सोलेदेखि अक्करे बजारसम्म सयौँ घर बाढीले बगाएको छ। सडक र पुलमा क्षति पुगेका कारण कतिपय बस्ती एकअर्काबाट सम्पर्कविहीन भएका छन्।
नुवाकोटका युगनाथ अधिकारीले आफ्नै आँखाअगाडि दुई दिदी, भान्जा र भान्जा–बुहारीलाई बाढीले बगाएको बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल डंगोलले बाढीपछि विद्यार्थी लिन गएको स्कुल बससमेत सम्पर्कविहीन भएको बताएका छन्।
रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार टिमुरे, स्याफ्रुबेंसी, हाकुबेंसी, मैलुङ, पैरेबेसी, सोले, शान्तिबजार, खाल्टेबस्ती, बेत्रावती, ढुंगे, त्रिशूली, बट्टार र देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ।
कसरी आयो वाढी ?
बाढीको कारणबारे अहिलेसम्म अन्तिम निष्कर्ष आइसकेको छैन। तर विभिन्न निकाय तथा विज्ञको प्रारम्भिक अध्ययनले हिमपहिरो वा ठूलो परिमाणको बरफ तथा चट्टानी गेग्रान खसेर ल्हेन्दे खोला थुनिएको र त्यसपछि अचानक पानीको निकास हुँदा बाढी आएको हुनसक्ने देखाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘प्लानेट ल्याब्स’का स्याटेलाइट तस्बिर विश्लेषण गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमाक्षेत्रमा हिमचट्टान पहिरो गएको प्रारम्भिक संकेत भेटिएको जनाएको छ। ९ र १० भदौका स्याटेलाइट तस्बिर तुलना गर्दा ल्हेन्दे खोलामा गेग्य्रानसहितको ठूलो बहाव देखिएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार चीनतर्फको जिलोंङ काउन्टी क्षेत्रको डङ्लिङ छांगो नदीमा हिमपहिरो गएर नदी केही समय थुनिएको र त्यसपछि बनेको अस्थायी बाँध फुटेर बाढी नेपालतर्फ आएको हुनसक्ने सूचना प्राप्त भएको छ। यद्यपि यसको पुष्टि गर्ने काम जारी छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विज्ञहरूले पनि ल्हेन्दे खोलामा ठूलो परिमाणमा बरफ र चट्टानी गेग्रान खसेको हुनसक्ने बताएका छन्। इसिमोडका रिमोट सेन्सिङ एन्ड जियो इन्फर्मेसन एसोसिएट सार्थक श्रेष्ठका अनुसार चिनियाँ पक्षबाट प्राप्त तस्बिरको प्रारम्भिक विश्लेषणले नेपालतर्फ हिमपहिरो गएको देखाएको छ।
जल तथा मौसम विज्ञान विभागले भने नेपाल वा तिब्बततर्फ कुनै क्षेत्रमा हिमताल विस्फोट भएको सम्भावनासमेत औँल्याएको छ। विभागका अनुसार रसुवा क्षेत्रमा मंगलबार र बुधबार ठूलो वर्षा भएको थिएन।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं जलवायु अनुसन्धानकर्ता रिजनभक्त कायस्थका अनुसार प्रारम्भिक अध्ययनले हिमपहिरोपछि ल्हेन्दे खोला थुनिएको र त्यसपछि बाढीमा परिणत भएको देखाउँछ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बुधबार बिहान ८ः३७ बजे गोसाइँकुण्डबाट करिब ४७ किलोमिटर उत्तरतर्फ तिब्बतमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। तर उक्त भूकम्प, हिमपहिरो र बाढीबीच प्रत्यक्ष सम्बन्ध स्थापित भइसकेको छैन।
गल्छीमा ३० मिनेटमै ९ मिटर बढ्यो पानी
इसिमोडका अनुसार बाढीको बहाव असाधारण रूपमा तीव्र थियो। त्रिशूली नदीको पानीको सतह गल्छीमा करिब ३० मिनेटमै ९ मिटर बढेको थियो। मलेखुमा पनि सोही अवधिमा पानीको सतह करिब ७ मिटर बढेको उल्लेख छ।
बाढीका कारण त्रिशूली नदी किनारका धेरै जलमापन केन्द्र बगेका छन्। गल्छीको जलमापन केन्द्र भने सञ्चालनमा रहेको जनाइएको छ। माथिल्लो क्षेत्रमा अझै कुनै अवरोध बाँकी रहे अर्को बाढीको लहर आउन सक्ने जोखिमसमेत विज्ञहरूले औँल्याएका छन्।
सम्झौता भए पनि सूचना संयन्त्र कमजोर
नेपाल र चीनबीच विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यमा सहकार्य गर्ने समझदारी यसअघि नै भइसकेको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सन् २०१९ को चीन भ्रमणका क्रममा नेपाल सरकारको गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
उक्त समझदारीले सूचना प्लेटफर्म स्थापना, तालिम केन्द्र निर्माण, प्राकृतिक जोखिमको निगरानी, विपद् जोखिम न्यूनीकरणका परियोजना तथा सरकारी निकायबीच अनुभव आदानप्रदानसहित नौ क्षेत्रमा सहकार्यको आधार बनाएको थियो।
तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सम्झौता भए पनि तत्काल पूर्वसूचना आदानप्रदान गर्ने प्रभावकारी संयन्त्र व्यवहारमा स्थापित हुन नसकेको देखिएको छ।
उनले नेपाल र चीनका सम्बन्धित निकायबीच समन्वय गरी सीमापारि उत्पन्न हुने जोखिमको सूचना नेपालमा तत्काल पु¥याउने व्यवस्था गर्नुपर्ने बताएका छन्। उनका अनुसार विपद् भइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुनेभन्दा जोखिम पहिल्यै पहिचान गरी क्षति घटाउने प्रणाली आवश्यक छ।
बुधबारको बाढीपछि जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मेट्रोलोजिकल एजेन्सी (सीएमए) का अधिकारीबीच भर्चुअल छलफल भएको थियो। त्यसपछि चीनले आफ्नो क्षेत्रमा नदीको बहाव बढे तत्काल नेपाललाई जानकारी दिने प्रतिबद्धता जनाएको छ।
जोखिम अझै टरेको छैन
सरकारले भोटेकोशी र त्रिशूलीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीमा अझै ठूलो बहाव आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रशासन र अन्य उद्धार संयन्त्र खोजी तथा उद्धारमा परिचालित छन्। सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीको अवस्था पत्ता लगाउन ड्रोनसहितका प्रविधि प्रयोग भइरहेका छन्।
बाढीको वास्तविक कारण, बेपत्ता नागरिकको संख्या र भौतिक क्षतिको पूर्ण विवरण अझै यकिन हुन सकेको छैन। तर बिहीबार बिहानसम्म भेटिएका १६२ शव र अझै सम्पर्कविहीन ठूलो संख्याका नागरिक तथा सुरक्षाकर्मीले बुधबारको भोटेकोशी विपत्तिको वास्तविक मानवीय क्षतिको पूर्ण तस्वीर अझै बाहिर आउन बाँकी रहेको देखाएको छ।

