रसुवा बाढीपछि सप्तरीबाट ३३ जना अझै सम्पर्कविहीन, एकै परिवारका तीनसहित ७ जना सम्पर्कमा

राजविराज — भोटेकोशीमा आएको भीषण बाढीपछि सप्तरीका विभिन्न स्थानीय तहबाट खोजी तथा उद्धारका लागि विवरण संकलन गरिएका ४० जनामध्ये ३३ जना अझै सम्पर्कविहीन छन्। प्रशासनमा प्राप्त विवरणअनुसार रसुवा तथा नुवाकोटका जलविद्युत आयोजना, निर्माणस्थल र अन्य क्षेत्रमा काम गर्न गएका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएका हुन्।

सम्पर्कविहीनको सूचीमा जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर, ओभरसियर, प्राविधिक, कामदार, शिक्षक र अन्य कर्मचारी छन्। सप्तरी प्रशासनमा प्राप्त विवरणअनुसार सात जना भने पछिल्लो समय परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आउनेमा बलानबिहुल गाउँपालिका–६ सेहराका एकै परिवारका शिक्षक सुरेशकुमार यादव, उनकी श्रीमती सरिता यादव र ८ वर्षीया छोरी ईभिन्जलीना यादव छन्। उनीहरू रसुवा सदरमुकाममा रहेका थिए।

त्यस्तै, कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरका २४ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय मरिक, राजविराज नगरपालिका–२ राजदेवी टोलका ४२ वर्षीय दिपक देव, रुपनी गाउँपालिका–१ का २५ वर्षीय गिर्धारीलाल कुमार साह र अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डौलका २५ वर्षीय कृष्णकुमार चौधरी पनि सम्पर्कमा आएका छन्। दिपक देव रसुवास्थित चिलिमे सबस्टेसनमा कार्यरत थिए भने मरिक जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए।

तर, प्रशासनको विवरणमा रहेका ३३ जनाको अवस्था अझै अज्ञात छ। उनीहरूमध्ये ठूलो संख्या रसुवाका जलविद्युत आयोजनामा कार्यरत जनशक्ति रहेको छ। महादेवा गाउँपालिका–२ का २८ वर्षीय देवकुमार इसर रसुवास्थित जलविद्युत आयोजनामा काम गर्दै आएका थिए। सोही गाउँपालिकाका ३४ वर्षीय इन्द्रनारायण इसर अपर हाइड्रोपावर लिमिटेडमा कामदारका रूपमा कार्यरत थिए।

खडक नगरपालिका–७ का २० वर्षीय सुनिता राम नुवाकोटको त्रिशूली बजारमा काम गर्दै आएकी थिइन्। उनीसँगै उनका ४ वर्षीय छोरा दिवान्स राम पनि सम्पर्कविहीन छन्। विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय अजयकुमार यादव रसुवामा प्राविधिक शिक्षकका रूपमा कार्यरत थिए।

तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह रसुवास्थित पावरहाउस र यूटीए–३ ‘ए’ मा कार्यरत थिए। तिरहुत गाउँपालिका–४ डिमनका ४४ वर्षीय रविन्द्रकुमार यादव त्रिशूली बजारस्थित जेसी हाइड्रोपावरमा कार्यरत थिए।

राजगढ गाउँपालिका–२ बनैनियाँका २४ वर्षीय राजिवकुमार सिंह रसुवास्थित अपर त्रिशूली २१६ मेगावाट आयोजनामा क्यूसी इन्जिनियरका रूपमा कार्यरत थिए। सुरुङ्गा नगरपालिका–२ का २३ वर्षीय सरोज चौधरी मेलुङ ५ मेगावाट जलविद्युत आयोजनामा काम गर्थे।

कञ्चनरूप नगरपालिका–६ सितापुरका ४० वर्षीय अनिल विश्वकर्मा रसुवाको बेत्रावती बजारस्थित फेवा कन्स्ट्रक्सनमा कार्यरत थिए। महादेवा गाउँपालिका–५ अकबरटोलका २८ वर्षीय सन्तोष यादव रसुवामा ओभरसियरका रूपमा काम गर्दै आएका थिए। शम्भुनाथ नगरपालिका–४ का २३ वर्षीय पिताम्बरप्रसाद दास मेलुङ ५ मेगावाट जलविद्युत आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत थिए।

तिलाठी कोइलाडी गाउँपालिकाका ३० वर्षीय दिलिपकुमार मण्डल रसुवास्थित मेलुङ २१६ मेगावाट जलविद्युत आयोजनामा सर्भे इन्जिनियरका रूपमा काम गर्दै आएका थिए। शम्भुनाथ नगरपालिका–३ का चार जना पनि सम्पर्कविहीन छन्। फेवा कन्स्ट्रक्सन, बेनी–नयाँपुल, रसुवामा कार्यरत ४५ वर्षीय रमेश चौधरी, ४५ वर्षीय हृदयनारायण चौधरी, २७ वर्षीय सुरेन्द्रदेव चौधरी र ३५ वर्षीय दिपेन्द्र चौधरीको खोजीका लागि परिवारजनले प्रशासनमा विवरण दिएका छन्।

सोही नगरपालिका–४ का २४ वर्षीय प्रेमसागर चौधरी पनि रसुवामा काम गर्दै आएका थिए। वडा नम्बर ६ कठौनाका २४ वर्षीय साजन चौधरी निर्माणाधीन सिनो हाइड्रोपावरमा कार्यरत थिए। ३७ वर्षीय ओमप्रकाश चौधरी नेपाल विद्युत् प्राधिकरणको अपर त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत थिए भने शम्भुनाथ–३ का २२ वर्षीय त्रिभुवनकुमार मण्डल नुवाकोटमा काम गर्दै आएका थिए।

बोदेबर्साइन नगरपालिका–८ काचनका तीन जना पनि सम्पर्कविहीन छन्। ३५ वर्षीय शिवकुमार यादव जेसी हाइड्रोपावरमा सुपरभाइजर, ३१ वर्षीय देवकुमार यादव सोही आयोजनामा इन्जिनियर र २५ वर्षीय सचिन यादव ओभरसियरका रूपमा कार्यरत थिए।

विष्णुपुर गाउँपालिका–१ का ३८ वर्षीय ओम नारायण यादव रसुवास्थित अपर त्रिशूली २१६ मेगावाट आयोजनामा सिभिल इन्जिनियर तथा महादेवा गाउँपालिका–३ का ३६ वर्षीय सन्तोष यादव सोही आयोजनामा ओभरसियरका रूपमा कार्यरत थिए। राजगढ गाउँपालिकाका ३२ वर्षीय विजय यादव पनि अपर त्रिशूली २१६ मेगावाट आयोजनामा सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए।

यसैगरी तिरहुत गाउँपालिका–३ हटैलका ३० वर्षीय अशोक यादव नुवाकोटको सुरुङमा काम गर्दै आएका थिए। हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रका १८ वर्षीय मुकेश सदा तथा बरमझियाका १८ वर्षीय विनोद सदा पनि रसुवास्थित हाइड्रोपावरमा काम गर्ने क्रममा सम्पर्कविहीन भएका छन्। तिलाठी कोइलाडी गाउँपालिका–२ का २९ वर्षीय जितेन्द्र मण्डल अपर त्रिशूली जलविद्युत आयोजनामा ओभरसियरका रूपमा कार्यरत थिए।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक सीडीओ नरेशकुमार यादवका अनुसार छिमेकी भारतको बिहारस्थित मधुवनी, लौकहा थाना बलुवा क्षेत्रका २८ वर्षीय सरोजकुमार गुप्ताको नामसमेत वेपत्ताको सूचिमा छ। उनी रसुवाको जलविद्युत आयोजनामा कामदारका रूपमा कार्यरत थिए।

बाढीपछि परिवारले आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै स्थानीय प्रशासनमा खोजी तथा उद्धारका लागि निवेदन दिएका हुन्। सूचीमा रहेका अधिकांश व्यक्ति रोजगारीका क्रममा रसुवा र नुवाकोट पुगेका थिए। जलविद्युत आयोजना तथा निर्माणस्थलमा काम गर्ने जनशक्ति ठूलो संख्यामा सम्पर्कविहीन भएकाले उनीहरूको अवस्था यकिन गर्न सम्बन्धित आयोजना, सुरक्षा निकाय र प्रशासनबीच समन्वय आवश्यक देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट