विराटनगरमा चोरी गर्न घर पसेका व्यक्तिको भाग्ने क्रममा तीन तलाबाट खसेर मृत्यु
विराटनगर — विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा शनिबार मध्यराति चोरी गर्न प्रवेश गरेका अन्दाजी ३५–४० वर्षीय पुरुषको भाग्ने क्रममा तीन तलाबाट खसेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठका अनुसार राति करिब साढे १२ बजे घरको तेस्रो तलाबाट खसेका ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार मृतक छिमेकीको घर हुँदै न्यौपानेको घरको तेस्रो तलासम्म पुगेका थिए। तेस्रो तलामा अपरिचित व्यक्ति प्रवेश गरेको थाहा पाएपछि घरधनीले होहल्ला गरेका थिए।
त्यसपछि आसपासका मानिसहरू जम्मा हुन थालेपछि ती व्यक्ति भाग्ने क्रममा तेस्रो तलाबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनापछि डीएसपी श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि आइतबार बिहान करिब २ बजे शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएको छ।
मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले उनको पहिचान खुलाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा ती व्यक्ति चोरीको उद्देश्यले घरमा प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि चोरी भएको सामग्री वा घटनाको अन्य विवरणबारे प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

