भोटेकोशीको भेल थामियो, सप्तरीका ५० परिवारमा रुवाबासी थामिएनः छ दिनदेखि आफन्तको खोजी
राजविराज — मोबाइलमा बाढीको भिडियो देखिएपछि पत्रकार तथा आमसञ्चार प्राधिकरण मधेशका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादवले सबैभन्दा पहिले आफ्नो मामाघर सम्झिए। रसुवाको बेत्रावती बजारमा भोटेकोशीको भेल पसिरहेको खबरसँगै उनको मनमा एउटै प्रश्न उठ्यो—त्यहाँ डेरा गरेर बसिरहेका मामाका छोरा इञ्जिनियर अजयकुमार यादव कहाँ छन् ?
फोन गरे। उठेन। फेरि गरे। सम्पर्क भएन। लगातार गरिरहे, फोन उठ्दै उठेन। त्यो क्षणदेखि श्यामसुन्दरका लागि भोटेकोशीको बाढी एउटा समाचार रहेन, आफ्नै परिवारभित्र पसेको विपत्ति बन्यो। उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा कार्यरत अजयसँग सम्पर्क टुटेपछि उनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा खबर गरे। तर रात परिसक्दासमेत अजयको कुनै अत्तोपत्तो भएन।
शनिबारसम्मको विवरण हेर्दा यो पीडा श्यामसुन्दरको परिवारमा मात्रै सीमित छैन। भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटमा रोजगारी तथा कामका लागि पुगेका सप्तरीका ५० भन्दा बढी व्यक्ति अझै परिवारको सम्पर्कमा आएका छैनन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले संकलन गरेको विवरणमा एकजनाको मृत्यु पुष्टि भइसकेको छ, केही सम्पर्कमा फर्किएका छन् र कम्तीमा १८ जनालाई उद्धार गरिएको अभिलेख छ।
तर प्रभावित क्षेत्रमा आफन्त खोज्न चाहने परिवारका लागि सबैभन्दा ठूलो समस्या एउटै छ— बाढी प्रभावित स्थानसम्म पुग्ने अवस्था छैन, सम्पर्कविहीनको वास्तविक अवस्था यकिन छैन र धेरै परिवार अझै सूचनाको प्रतीक्षामा छन्।
६ दिनसम्म एउटै प्रश्न : अजय कहाँ छन् ?
बुधबार बिहान श्यामसुन्दर मोबाइल चलाइरहेका थिए। भोटेकोशीमा आएको बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो क्षति पु¥याइरहेको जानकारी सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आउन थालेको थियो। बेत्रावती बजारसमेत बाढीको चपेटामा परेको खबरले उनलाई झस्कायो।
अजय त्यही क्षेत्रमा बस्दै आएका थिए। अजयसँग तत्काल सम्पर्क गर्न खोजे। मोबाइल बन्द थियो। बाढीमा ठूलो जनधनको क्षति भएको खबर क्रमशः फैलिँदै जाँदा फोन नउठ्नुले उनको आशंका झन् बढ्यो। दिउँसोसम्म पनि सम्पर्क हुन नसकेपछि उनले प्रशासन र प्रहरीलाई जानकारी गराए। साँझसम्म कुनै खबर आएन।
‘त्यो दिनदेखि नै मामाघरमा रुवाबासी छ। म पनि आफ्नो घर नफर्की राति त्यही बसेँ। चिन्ताले रातभर कोही निदाउनै पाएनौं,’ श्यामसुन्दरले भने, ‘बिहानीको पर्खाइमा मोबाइलमा आइरहेको सूचना र समाचार हेर्दै रात बितायौं।’
अजयको खोजीमा उनी कान्छो भाइ जयप्रकाश यादवलाई साथ लिएर अर्को दिन माइक्रोबसमा निस्किए। बाटोमा ठाउँ–ठाउँमा जाम झेल्दै उनीहरू बेलुकातिर काठमाडौँ पुगे। रात काठमाडौंमै बिताएपछि भोलिपल्ट बिहानै नुवाकोटतर्फ लागे।
बट्टार पुगेपछि उनीहरू नं. १ सैन्य तालिम केन्द्रसम्म पुगे। अजयको नाम सम्पर्कविहीन व्यक्तिको सूचीमा टिपाए। उद्धार गरिएका व्यक्तिहरूको सूची हेर्न थाले। हेलिकोप्टरबाट उद्धार गरेर ल्याइएका मानिसमध्ये कतै अजय पनि पो छन् कि भन्ने आशा उनीहरूले त्यही सूचीमा खोजिरहेका थिए। तर नाम भेटिएन।
‘कतै भाइको पनि नाम देखिन्छ कि भन्ने आशा गरेका थियौं। सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेर ल्याइरहेका व्यक्ति मेरो भाइ नै हो कि भन्ने पनि लाग्थ्यो,’ श्यामसुन्दरले भने, ‘बेलुकासम्म प्रतीक्षामै बित्यो।’ बेत्रावतीसम्मै पुगेर आफैं खोज्ने प्रयास पनि गरे। तर प्रभावित क्षेत्रमा पुग्न नसकिने जानकारी पाएपछि उनीहरू थप अन्योलमा परे।
विद्यालयमा अजयसँग काम गर्ने व्यक्तिहरूसँग सम्पर्क गरे। खोजीका लागि सहयोग गरिदिन आग्रह गरे। तर बाढीपछि अजयसँग उनीहरूको पनि सम्पर्क नभएको र प्रभावित क्षेत्रमा पुग्ने अवस्था नरहेको जवाफ आयो। त्यसपछि फेरि फर्कनुबाहेक उनीहरूसँग अर्को विकल्प रहेन।
मोबाइलको लोकेसन भेटियो, मानिस भेटिएन
शुक्रबार रातिसम्म काठमाडौं फर्किएका श्यामसुन्दर र उनका परिवारले भोलिपल्ट प्रहरी प्रधान कार्यालय पुगेर अजयको मोबाइल ट्रेस गराए। मोबाइलको लोकेसन बेत्रावतीबाट करिब १० देखि १२ किलोमिटरको क्षेत्रमा देखिएको जानकारी उनीहरूले पाए। लोकेसनले आशा जगायो। तर त्यसलाई पछ्याएर उद्धार टोली अजयसम्म पुग्न सकेको छैन।
‘बेत्रावतीबाट १०÷१२ किलोमिटरको रेन्जमा लोकेसन देखिएको जानकारी पाएँ। तर त्यहाँसम्म उद्धार टोली पुग्नै नसकेको खबर मिडियामा देख्दा पिरोलिरहेको छ,’ श्यामसुन्दरले भने, ‘म जस्ता सयौं परिवार सम्पर्कविहीन आफन्तको खोजीमा चार–पाँच दिनदेखि भौतारिँदासमेत प्रभावित क्षेत्रसम्म उद्धार टोली पुग्न नसक्नुले चित्त दुखेको छ।’
उनका अनुसार अजय सम्पर्कविहीन भएपछि मामाघरमा खाना खाने अवस्था छैन। बुहारी ६दिनदेखि अचेत अवस्थामा रहेको उनले बताए। ‘भाइ सम्पर्कविहीन रहेको खबरपछि घरमा मामा–माइजुले अन्नको एक गाँस पनि खानुभएको छैन भने बुहारी अचेत अवस्थामा छिन्,’ उनले भने, ‘हामी पीडित परिवार कहाँ–कहाँ र कहिलेसम्म भौतारिने हो ? सरकार, मामा–माइजु र बुहारीका लागि के जवाफ लिएर घर फर्किने ?’
उनले अजयको खोजीमा सहयोग गरिदिन सम्बन्धित सबै पक्षसँग अपिल गरेका छन्।
अजय एक्ला होइनन्, सप्तरीबाटै ५० भन्दा बढी बेखबर
जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबारसम्म संकलन गरेको विवरणले रसुवा र नुवाकोटमा बाढीपछि सम्पर्कविहीन भएका सप्तरीका नागरिकको संख्या ठूलो रहेको देखाउँछ।
प्रशासनका अनुसार नुवाकोटमा हाइड्रोपावरको कामदार रहेका खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय संतोष चौधरीको मृत्यु पुष्टि भएको छ। उनको शव गण्डकी अस्पताल, कास्की, पोखरामा पहिचान गरिएको हो। उनकी आमा बासमति चौधरीले छोराको अवस्थाबारे प्रहरीमा जानकारी गराएकी थिइन्।
बाँकी सम्पर्कविहीनको सूचीमा हाइड्रोपावरका मजदुरदेखि इन्जिनियर, ओभरसियर, सुपरभाइजर, चालक, शिक्षक र सुरक्षाकर्मीसम्म छन्। यसले रसुवा र नुवाकोटमा सप्तरीका नागरिक रोजगारीका लागि कति ठूलो संख्यामा पुगेका थिए भन्ने पनि देखाउँछ।
महादेवा गाउँपालिका–२ का ४४ वर्षीय देवराज ईसर रसुवास्थित हाइड्रोपावरमा कर्मचारीका रूपमा कार्यरत थिए। सोही ठाउँका ४० वर्षीय इन्द्रनारायण ईसर अपर हाइड्रोपावर लिमिटेडमा कामदार थिए। खडक नगरपालिका–७ की २० वर्षीया सुनिता राम नुवाकोटको त्रिशूली बजारमा काम गर्दै आएकी थिइन्। उनकी छोरासमेत सम्पर्कमा नआएको विवरण छ।
विष्णुपुर गाउँपालिका–१ का अजयकुमार यादव रसुवामा प्राविधिक शिक्षकका रूपमा आबद्ध रहेको प्रशासनको विवरणमा उल्लेख छ। उनको उमेरसम्बन्धी उपलब्ध विवरणमा भने फरक देखिन्छ—परिवारतर्फबाट ३६ वर्ष र प्रशासनिक सूचीमा ३५ वर्ष उल्लेख छ। उनी उत्तरगया–५ बोगटीटारस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा कार्यरत रहेको परिवारले जनाएको छ।
तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अपर त्रिशूली–३ ए को पावरहाउसमा कार्यरत थिए। तिरहुत गाउँपालिका–४ डिमनका ४४ वर्षीय रविन्द्रकुमार यादव त्रिशूली बजारस्थित जेसी हाइड्रोपावरका इन्जिनियर थिए।
रसुवामा हाइड्रोपावरमा कार्यरत भारत मधुवनीका २८ वर्षीय सरोजकुमार गुप्ता, सुरुङ्गा नगरपालिका–२ का २३ वर्षीय सरोज चौधरी, कञ्चनरूप नगरपालिका–६ सितापुरका ४० वर्षीय अनिलकुमार विश्वकर्मा, अकबरटोल, हाल राजविराज–तितरीगाछीका २८ वर्षीय संतोष यादव, शम्भुनाथ नगरपालिका–४ का २३ वर्षीय पिताम्बरप्रसाद दास र तिलाठी कोइलाडी गाउँपालिका–लौनियाका ३० वर्षीय दिलीपकुमार मण्डल पनि सम्पर्कविहीनको सूचीमा छन्।
शम्भुनाथ नगरपालिका–३ का रमेश चौधरी (४५), हृदयनारायण चौधरी (४५), सुरेन्द्रदेव चौधरी (२७) र दिपेन्द्र चौधरी (३५) तथा शम्भुनाथ–४ का प्रेमसागर चौधरी (२४) पनि सम्पर्कमा आएका छैनन्। त्यस्तै शम्भुनाथ–८ का साजन चौधरी (३५), शम्भुनाथ–६ कठौनाका ओमप्रकाश चौधरी (३७) र शम्भुनाथ–३ का त्रिभुवनकुमार मण्डल (२२) को अवस्था अज्ञात छ।
बोदेबर्साइन नगरपालिका–८ काचनका शिवकुमार यादव (३५), देवकुमार यादव (३१) र सचिन यादव (२५) तथा विष्णुपुर–१ का ओमनारायण यादव (३८) पनि सम्पर्कविहीन छन्। राजगढ गाउँपालिका–६ फकिराका ३२ वर्षीय विजयकुमार यादव मेलुङ जलविद्युत् आयोजनामा सर्भे इन्जिनियरका रूपमा कार्यरत थिए।
तिरहुत–३ हटैलका ३० वर्षीय अशोक यादव नुवाकोटको सुरुङमा काम गर्दै थिए। हनुमाननगर कंकालिनी–१ बरमझियाका १८ वर्षीय मुकेश सदा रसुवाको हाइड्रोपावरमा कामदार थिए। सोही ठाउँका १८ वर्षीय विनोद सदाको नाम पनि सम्पर्कविहीनको सूचीमा छ।
तिलाठी कोइलाडी–२ का २९ वर्षीय जितेन्द्र मण्डल अपर त्रिशूली हाइड्रोपावरमा ओभरसियर थिए। राजविराज–१६ मुसहरी टोलाका बेचन सदा (५०) र शिवकुमार सदा (३७) तथा राजविराज–१० माटिगाढीका २२ वर्षीय रोशनकुमार यादव पनि सम्पर्कविहीन छन्। रोशन श्रीनाथ गण, टिमुरेमा नेपाली सेनामा कार्यरत रहेको विवरण छ।
अग्निसाइर कृष्णसवरण–२ का ३५ वर्षीय ललितानारायण चौधरी, सप्तकोशी–११ मलेठका ३७ वर्षीय देवानन्द चौधरी, डाक्नेश्वरी–७ मझौराका नितिशकुमार पासवान (२०) र अकलेशकुमार पासवान (१८) तथा तिलाठी कोइलाडी–२ का ३० वर्षीय मनिषकुमार मण्डल पनि सम्पर्कविहीन छन्।
देवानन्द अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा लोडर चालक र मनिष इन्जिनियरका रूपमा कार्यरत रहेको विवरण छ। राजगढ–३ का २६ वर्षीय राजीवकुमार सिंह पनि रसुवामा हाइड्रोपावरमा कार्यरत थिए। खडक–१० दंग्राहीका राज पासमान, शिवकुमार पासमान, सुरज मण्डल र हेमनारायण साह रसुवामा हाइड्रोपावरमा काम गर्ने क्रममा सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।
बोदेबर्साइन–१ देवहारीका शिवकुमार यादव रसुवामा सुरक्षाकर्मीका रूपमा कार्यरत थिए। कञ्चनरूप–१२ का २९ वर्षीय नवीन श्रेष्ठ सवारी चालक र डाक्नेश्वरी–५ पातोका अभिनाश पण्डित इन्जिनियरका रूपमा रसुवामा कार्यरत रहेको प्रशासनको विवरणमा छ।
त्यस्तै खडक–५ रञ्जितपुरका ३० वर्षीय प्रवेशकुमार चौधरी नुवाकोटमा हाइड्रोपावरका कामदार, राजविराज–१६ बोरियाका ३२ वर्षीय सुरेन सदा रिख्यासन नुवाकोटमा हाइड्रोपावरका कामदार, तिलाठी कोइलाडी–३ सकरपुराका ३२ वर्षीय राजमणि साह गोसाइँकुण्ड–५ स्याफ्रुबेँसीमा होटलमा काम गर्ने र भारत मधुवनीका ४३ वर्षीय रञ्जितकुमार गुप्ता रसुवामा मेकानिकल ओभरसियरका रूपमा कार्यरत रहेको विवरण छ।
केही फर्किए सम्पर्कमा
सम्पर्कविहीनको सूचीमा परेका सबै व्यक्ति बेपत्ता नै छन् भन्ने अवस्था छैन। खोजी र सम्पर्कको क्रममै केही परिवारले राहतको खबर पाएका छन्। कञ्चनरूप–८ कञ्चनपुरका २४ वर्षीय प्रहरी कर्मचारी अजय मरिक जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए। उनी सम्पर्कमा आएका छन्।
राजविराज–२ राजदेवी टोलका ४२ वर्षीय दीपक देव रसुवास्थित चिलिमे सबस्टेसनमा कार्यरत कर्मचारी हुन्। उनी पनि सम्पर्कमा आएका छन्। बलान बिहुल–६ सेहराका ३४ वर्षीय शिक्षक सुरेशकुमार यादव, उनकी २८ वर्षीया श्रीमती सरिता यादव र ८ वर्षीया छोरी इभिन्जलीना यादव पनि रसुवा सदरमुकामबाट सम्पर्कमा आएका छन्।
रूपनी गाउँपालिका–१ का २५ वर्षीय गिर्धारीलालकुमार साह नुवाकोट नयाँपुल देवघाटस्थित साथीको घरमा रहेका अवस्थामा सम्पर्कमा आए। अग्निसाइर कृष्णसवरण–१ का २५ वर्षीय कृष्णकुमार चौधरी, बोदेबर्साइन–७ का शुशिलकुमार चौधरी र राजविराज–५ की सोना बाटा पनि सम्पर्कमा आएको विवरणमा छ।
प्रशासनको अभिलेखमा यीमध्ये केही व्यक्ति भदौ ११ र १२ गते सम्पर्कमा आएको उल्लेख छ।
१८ जना उद्धार, तर सूची अझै घटेन
बाढीपछि सप्तरीका नागरिकको खोजीका क्रममा कम्तीमा १८ जनालाई उद्धार गरिएको प्रशासनको शनिबारसम्मको अभिलेख छ।
भदौ ११ गते २३ वर्षीय राजेश मण्डल, २० वर्षीय दीपकनारायण ठाकुर, २२ वर्षीय अकलेशकुमार यादव, राजविराज–९ का ३२ वर्षीय अबिन्द मेतहा र २१ वर्षीय राहुल मुखियालाई रसुवाबाट उद्धार गरिएको थियो। अबिन्द मेहताको दाहिने खुट्टामा चोट लागेको विवरण छ।
सोही दिन ३६ वर्षीय सन्दिपकुमार दासलाई धुन्चेबाट उद्धार गरिएको थियो।
भदौ १२ गते ३० वर्षीय प्रकाश चौधरी, २१ वर्षीय सन्दिपकुमार चौधरी, ४३ वर्षीय दया चौधरी, १० वर्षीय सिमन चौधरी, ३० वर्षीय रामकृष्ण मण्डल, २९ वर्षीय प्रमोदकुमार मण्डल, ३७ वर्षीय चन्द्रशेखर यादव, २४ वर्षीय कृपानन्द यादव, ५ वर्षीया सम्पदा चौधरी, ३४ वर्षीया पूनम चौधरी, २८ वर्षीया रूबी यादव र २४ वर्षीय अनिककुमार चौधरीलाई विभिन्न स्थानबाट उद्धार गरिएको अभिलेखमा उल्लेख छ।
उद्धार गरिएका अधिकांश व्यक्ति रसुवाको मैलुङ, शान्तिबजार, धुन्चे र आसपासका क्षेत्रबाट फेला परेका थिए।
मृत्यु पुष्टि एकजनाको, खोजीको दबाब बढ्दो
बाढीपछि सप्तरी प्रशासनले संकलन गरेको विवरणमा हालसम्म खडक–५ रञ्जितपुरका संतोष चौधरीको मृत्यु पुष्टि भएको छ। उनको शव पोखरास्थित गण्डकी अस्पतालमा पहिचान गरिएको हो।
तर मृत्यु पुष्टि भएका र उद्धार गरिएका व्यक्तिको संख्या बाहेक अझै ठूलो संख्या सम्पर्कविहीन रहेकाले प्रशासन तथा सुरक्षा निकायमाथि खोजी तीव्र पार्न दबाब बढेको छ।
यस घटनाको अर्को जटिलता प्रभावित क्षेत्रमा पुग्न नसक्नु हो। श्यामसुन्दर यादवले आफ्नै भाइको मोबाइल लोकेसन प्रभावित क्षेत्रमै देखिए पनि उद्धार टोली त्यहाँसम्म पुग्न नसकेको जानकारी पाएका छन्। यही अवस्थाले अन्य परिवारको चिन्ता पनि बढाएको छ।
सप्तरीबाट रोजगारीका लागि रसुवा र नुवाकोट पुगेका धेरैजसो नागरिक हाइड्रोपावर र निर्माण आयोजनामा आबद्ध छन्। त्यसैले सम्पर्कविहीनको सूचीमा मजदुरसँगै इन्जिनियर, ओभरसियर, शिक्षक, सुपरभाइजर, चालक र सुरक्षाकर्मीसमेत छन्।
बाढीले सडक, पुल र पूर्वाधारको पहुँच तोडेपछि आफन्त खोज्न निस्किएका परिवार स्वयं पनि प्रभावित क्षेत्रमा पुग्न नसक्ने अवस्थामा छन्। प्रशासनले विवरण संकलन गरिरहेको छ, सुरक्षा निकायले उद्धार जारी राखेका छन्, केही व्यक्ति सम्पर्कमा आएका छन् र केहीको शवसमेत पहिचान भएको छ। तर सूचीमा रहेका बाँकी नामका परिवारका लागि अहिलेसम्म सबैभन्दा महत्वपूर्ण सूचना एउटै छ—‘उनीहरू कहाँ छन् ?’
श्यामसुन्दर यादवको परिवार पनि यही उत्तरको प्रतीक्षामा छ। ६ दिनदेखि उनीहरूलाई न निद्रा छ, न चैन। मोबाइलमा आउने हरेक नयाँ सूचना आशा बन्छ, प्रभावित क्षेत्रको अर्को समाचार फेरि डर। ‘हामी पीडित परिवार कहाँ–कहाँ र कहिलेसम्म भौतारिने हो ?’ श्यामसुन्दरको प्रश्न अहिले उनको परिवारको मात्र प्रश्न रहेन। रसुवा र नुवाकोटमा आफन्तको सम्पर्क पर्खिरहेका सप्तरीका दर्जनौं परिवारको साझा प्रश्न बनेको छ।


