विराटनगरस्थित दिव्यज्योती अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद
विराटनगर— विराटनगरको सीमावर्ती क्षेत्रमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको भ्यानबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा मंगलबार राति सशस्त्र प्रहरीले चेकजाँचका क्रममा रोकेर खानतलासी गर्दा दुई बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला पारेको हो। सुरक्षाकर्मीले भ्यान रोक्न खोजेपछि चालक भने गाडी छाडेर फरार भएका छन्।
सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले राति करिब ११ बजे को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई शंकास्पद रूपमा रोकेर जाँच गर्न खोजेको थियो। तर चालकले सुरक्षाकर्मीको टोलीलाई देखेपछि भ्यान छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गरेका थिए। त्यस क्रममा भ्यानभित्र दुईवटा बोरामा प्याक गरेर राखिएको करिब ६० किलो गाँजा फेला परेको हो।
बरामद भएको गाँजा र भ्यानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
गाँजा कसले कहाँबाट ल्याएको थियो, कहाँ लैजाने तयारी थियो र अस्पतालको नाम लेखिएको भ्यान प्रयोग गर्नुको उद्देश्य के थियो भन्नेबारे भने तत्काल केही खुलाइएको छैन। फरार चालकको खोजी भइरहेको छ।


