अमेरिकाको आफ्ना नागरिकलाई चेतावनीः नेपालमा प्रदर्शन अचानक हिंसात्मक बन्न सक्छ, यात्रा रद्द गर्न तयार रहनु
काठमाडौँ— नेपालमा सन २०२५ सेप्टेम्बरमा सुरु भएको देशव्यापी प्रदर्शन रोकिएर सुरक्षा अवस्था स्थिर देखिए पनि सहरी क्षेत्रमा जुनसुकै बेला प्रदर्शन र स्थानीय अशान्ति भड्किन सक्ने भन्दै अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको ट्राभल एडभाइजरीमा नेपाललाई लेभल–२ ‘Exercise Increased Caution’ मा राख्दै प्रदर्शन पूर्वसूचनाबिनै सुरु हुन सक्ने र छोटो समयमै हिंसात्मक बन्न सक्ने चेतावनी दिइएको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपालको सुरक्षा अवस्थालाई ‘नागरिक अशान्ति’सँग जोडेर लेभल–२ को यात्रा चेतावनी कायम राखेको हो। पछिल्लो विवरणमा गत वर्ष सेप्टेम्बरमा सुरु भएको देशव्यापी प्रदर्शन रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख भए पनि विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्तिको सम्भावना अझै रहेको जनाइएको छ।
अमेरिकी नागरिकलाई सम्भावित जोखिमबाट बच्न ठूलो भीड र प्रदर्शनबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न भनिएको छ। त्यस्तै, नेपाल भ्रमणका क्रममा स्थानीय सञ्चारमाध्यमबाट पछिल्ला घटनाक्रमबारे जानकारी लिइरहन र परिस्थितिअनुसार आफ्नो यात्रा योजना परिवर्तन गर्न तयार रहन पनि सुझाव दिइएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपालमा प्रदर्शनहरू अप्रत्याशित रूपमा सुरु हुन सक्छन्। विगतका प्रदर्शन हिंसात्मक बनेका घटनालाई समेत ध्यानमा राख्दै यात्रुहरूलाई प्रदर्शन तथा भीडबाट दूरी कायम गर्न भनिएको हो। अमेरिकी नागरिकलाई आकस्मिक अवस्थाका लागि Smart Traveler Enrollment Program (STEP) मा दर्ता हुनसमेत सुझाव दिइएको छ।
रसुवा र हिमाली क्षेत्रमा प्राकृतिक विपद्को जोखिम
अमेरिकी चेतावनीको अर्को महत्वपूर्ण पक्ष नेपालको प्राकृतिक विपद्सँग सम्बन्धित छ। नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम नियमित रहने उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी र पहिरो आउन सक्ने जनाएको छ।
यस्ता विपद्ले सडक अवरुद्ध पार्नुका साथै भवन तथा पूर्वाधारमा क्षति पु¥याउन सक्ने र आपत्कालीन अवस्थामा उद्धार तथा सहायता प्राप्त गर्न कठिन हुनसक्ने चेतावनीमा उल्लेख छ। मनसुनका कारण खोज तथा उद्धार तथा चिकित्सकीय उद्धारसमेत जटिल बन्न सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
यही सन्दर्भमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि उक्त क्षेत्र अहिले प्राकृतिक विपद्को उच्च जोखिममा रहेको छ। अमेरिकी विदेश मन्त्रालयको नेपालसम्बन्धी यात्रा मार्गदर्शनमा रसुवाको टिमुरेलाई चीनसँगको उत्तरी सीमा हुँदै आवतजावत हुने प्रवेश–निकास बिन्दुका रूपमा उल्लेख गरिएको छ। हिमाली क्षेत्रमा यात्रा गर्ने अमेरिकी नागरिकलाई बाढी, पहिरो, हिमपहिरो तथा खस्ने ढुंगाजस्ता जोखिमप्रति सतर्क रहन भनिएको छ।
अमेरिकी मार्गदर्शनमा हिमाली क्षेत्रमा सडक तथा पदमार्ग वर्षाका कारण अवरुद्ध हुनसक्ने, दुर्गम क्षेत्रमा आपत्कालीन उद्धार तथा स्वास्थ्य सेवा सीमित हुनसक्ने र गम्भीर अवस्थाका यात्रुलाई हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने उल्लेख छ।
‘नेपाल नआउनू’ भनेको होइन, जोखिम बढेको भन्दै सावधानी
नेपाललाई लेभल–२ मा राख्नुको अर्थ अमेरिकी नागरिकलाई नेपाल भ्रमण पूर्ण रूपमा रोक लगाइएको भने होइन। अमेरिकी विदेश मन्त्रालयको चार तहको यात्रा चेतावनी प्रणालीमा लेभल–१ सामान्य सावधानी, लेभल–२ थप सतर्कता, लेभल–३ यात्रा पुनर्विचार र लेभल–४ यात्रा नगर्न सुझाव दिने तह हो। नेपाल हाल दोस्रो तहमा छ।
अर्थात्, अमेरिकी सरकारले नेपाललाई ‘यात्रा नगर्नू’ भन्ने मुलुकको सूचीमा राखेको छैन। तर नागरिक अशान्ति र प्राकृतिक विपद्का कारण सामान्यभन्दा बढी सावधानी अपनाउनुपर्ने मुलुकका रूपमा वर्गीकृत गरेको छ।
नेपालसम्बन्धी अमेरिकी सुरक्षा मार्गदर्शनमा प्रदर्शनहरू प्रायः राजनीतिक वा आर्थिक विषयमा हुने र विगतमा केही प्रदर्शन हिंसात्मक बनेको उल्लेख छ। यस्ता गतिविधि सामान्यतः अमेरिकी नागरिकलाई लक्षित गरेर हुने गरेको नदेखिए पनि भीड तथा प्रदर्शनस्थलबाट टाढा रहन सुझाव दिइएको छ।
भोटेकोशी बाढीपछि प्राकृतिक जोखिम पनि चेतावनीको केन्द्रमा
अमेरिकाले नेपालसम्बन्धी यात्रा चेतावनीमा नागरिक अशान्तिसँगै प्राकृतिक विपद्लाई पनि जोखिमका रूपमा उल्लेख गरेको समयमा नेपाल भने भोटेकोशी बाढीको ठूलो मानवीय तथा भौतिक क्षतिबाट गुज्रिरहेको छ।
मनसुनको समयमा पहाडी तथा हिमाली क्षेत्रमा बाढी र पहिरोले सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याउन सक्ने र दुर्गम क्षेत्रमा उद्धार तथा स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन कठिन हुने अवस्थालाई अमेरिकी विदेश मन्त्रालयले आफ्नो यात्रा मार्गदर्शनमा समेटेको छ।
अमेरिकी नागरिकलाई नेपाल भ्रमणका क्रममा स्थानीय समाचार नियमित हेर्न, अमेरिकी दूतावासका सुरक्षा सूचना पछ्याउन, भीड तथा प्रदर्शनबाट टाढा रहन र आकस्मिक अवस्थामा आफ्नो यात्रा योजना परिवर्तन गर्न तयार रहन भनिएको छ।
नेपालमा प्रदर्शनको जोखिम तत्काल पूर्ण रूपमा समाप्त नभएको र मनसुनजन्य विपद्को जोखिमसमेत कायम रहेको निष्कर्षसहित अमेरिकी विदेश मन्त्रालयले ‘Exercise Increased Caution’ कायम राखेको हो।



