बाढीको भयावह तस्वीरः बेत्रावतीमा एकै घरमा २३ र भारतको नारायणीमा भेटिए १३ अज्ञात शव

काठमाडौँ— भोटेकोशी–त्रिशूलीमा आएको भीषण बाढीपछि नुवाकोटको बेत्रावतीदेखि भारतको कुशीनगर हुँदै बग्ने नारायणी नदीसम्म मानवीय क्षतिको भयावह तस्वीर देखिएको छ। नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै स्थानबाट २३ शव फेला परेका छन् भने भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा नारायणी नदीबाट १३ अज्ञात शव बरामद भएका छन्।

दुवै स्थानमा भेटिएका शवको पहिचान र घटनासँगको सम्बन्धबारे प्रक्रिया अघि बढिरहेको छ। नुवाकोटमा बाढीपछि १ हजार ८४८ जना सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार २ हजार ९९२ जनालाई हेलिकोप्टरमार्फत उद्वार गरिएको छ भने तीन जना घाइतेको उपचार भइरहेको छ।

नुवाकोटका प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा घरभित्र २३ शव फेला परेका हुन्। तीमध्ये ६ शव हेलिकोप्टरमार्फत निकालिसकिएको र बाँकी शव संकलन गर्ने काम भइरहेको छ।

एकै स्थानमा यति ठूलो संख्यामा शव भेटिएपछि उक्त स्थान वास्तवमा होटल हो वा अन्य कुनै संरचना भन्ने विषयमा समेत प्रहरीले विवरण संकलन गरिरहेको छ। घटनास्थल नुवाकोट–रसुवा सीमा क्षेत्रमा पुग्नुअघि पर्ने बेत्रावतीमा रहेको हो।

विदुर–१० का वडाध्यक्ष गणेशकुमार नेपालका अनुसार गोसाइँकुण्ड मेलाको समयमा तीर्थयात्रीहरू खाना खान वा बास बस्न उक्त स्थानमा पुगेका हुनसक्ने प्रारम्भिक जानकारी छ। यद्यपि, त्यहाँ भेटिएका शवको पहिचान र उनीहरू कसरी त्यहाँ पुगे भन्नेबारे प्रहरीले अनुसन्धान तथा विवरण संकलन गरिरहेको छ।

नुवाकोटका नदी किनारका बस्तीमा ठूलो क्षति
भोटेकोशीबाट आएको बाढीले त्रिशूली नदीको बहाव बढाउँदा नुवाकोटका नदी किनारका बस्तीमा ठूलो क्षति पुगेको छ। विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका नदी तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन्।

किस्पाङ गाउँपालिकाको शान्तिबजार, बेत्रावती, सोले, तुप्चेफाँट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट बजार, बुधसिङघाट, महादेवफाँट किनारा, तारुकाघाट, केउरेनी र कोल्पुटारफाँटलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पु¥याएको विवरण छ।

बाढीले नुवाकोट–रसुवा सीमा बेत्रावतीमा रहेका दुईवटा पक्की पुलसमेत बगाएपछि सडक सम्पर्क विच्छेद भएको छ। त्रिदेशीय मार्गअन्तर्गत गल्छी–देवीघाट–विदुर–बेत्रावती सडकखण्ड पनि ठाउँ–ठाउँमा पहिरो तथा बाढीले क्षतिग्रस्त भएको डीएसपी हवारीले बताए।

पुरिएका घर, संरचना तथा सडक सुरक्षित रूपमा खोतल्ने काम भइरहेको छ। बाढीबाट भएको वास्तविक जनधनको क्षतिको विवरण संकलन गर्न सरकारी निकायहरू परिचालित छन्।

भारतको नारायणीमा पनि शव भेटिँदै
नेपालमा आएको बाढीको प्रभावसँगै भारततर्फ नारायणी नदीमा पनि शव भेटिने क्रम जारी छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्ला प्रशासनका अनुसार हालसम्म नारायणी नदीबाट १३ वटा अज्ञात शव फेला परेका छन्। तीमध्ये ६ पुरुष र ७ महिला छन्।

बरामद भएका शवमध्ये ६ वटा कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएका छन् । शव राख्ने ठाउँ अभाव भएपछि बाँकी सात शवलाई गोरखपुरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पठाइएको प्रशासनले जनाएको छ।

नदीमा थप शव हुनसक्ने आशंकामा भारतको एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा खोज तथा उद्धार अभियान जारी राखेका छन्। कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवका अनुसार बरामद शवको व्यवस्थापन प्रचलित कानुनी प्रक्रियाअनुसार भइरहेको छ। जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग समेत सम्पर्क गरिरहेको छ।

भारतीय प्रशासनले नेपाललाई शवबारे जानकारी गराउने काम भारतीय विदेश मन्त्रालयमार्फत अघि बढाएको जनाएको छ। पोस्टमार्टमलगायत कानुनी प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गर्ने र त्यसपछि पहिचान गरी सम्बन्धित परिवारसम्म पु¥याउने प्रक्रिया अघि बढाइने प्रशासनको भनाइ छ।

आफन्त खोज्न कुशीनगर पुगेकाका लागि कन्ट्रोल रुम
नेपालबाट भारततर्फ पुगेका तथा बाढीपछि आफन्तको खोजीमा कुशीनगर पुगेका नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्षसमेत स्थापना गरेको छ।

भारततर्फ नारायणी नदीमा शव भेटिन थालेपछि आफन्तजनमा थप चिन्ता बढेको छ। तर हालसम्म कुशीनगरमा भेटिएका १३ वटै शवको पहिचान खुलिसकेको छैन। त्यसैले ती शव नेपालमा बाढीका कारण बेपत्ता भएका व्यक्तिकै हुन् भन्ने निष्कर्ष प्रशासनिक रूपमा पुष्टि भइसकेको छैन।

नेपालतर्फ पनि बेत्रावतीमा फेला परेका २३ शवको पहिचान तथा घटनाको पूर्ण विवरण संकलन भइरहेको छ।

दुई देशको नदी प्रणालीमा फैलिएको खोजी
भोटेकोशीमा आएको बाढीले रसुवा हुँदै त्रिशूली नदीमा ठूलो बहाव ल्याएपछि त्यसको असर नुवाकोट, धादिङ हुँदै चितवन र भारततर्फ नारायणी नदीसम्म परेको छ। बाढीको बहावसँगै बगाएका संरचना, सामग्री तथा सम्भावित शवहरू तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने भएकाले नेपाल–भारत दुवैतर्फ खोजी तीव्र पारिएको छ।

नेपालमा सुरक्षाकर्मी तथा उद्वार टोलीले नदी किनार, बस्ती, पुरिएका संरचना र जोखिमयुक्त क्षेत्रमा खोजी गरिरहेका छन् भने भारततर्फ एसडीआरएफ र एनडीआरएफ नदीमै परिचालित छन्। तर बाढीको क्षतिको यकिन विवरण अझै संकलनकै क्रममा छ। नुवाकोटमा मात्रै १ हजार ८४८ जना सम्पर्कविहीन रहेको प्रहरीको विवरणले विपद्को आकार देखाउँछ।

ठूलो संख्यामा नागरिक अझै सम्पर्कमा नआएकाले बेत्रावती र नारायणीमा भेटिएका शवको पहिचान तथा सम्बन्धित परिवारसम्म सूचना पु¥याउनु अहिलेको प्रमुख चुनौती बनेको छ। बेत्रावतीमा एउटै स्थानबाट २३ शव भेटिनु र सीमापारि नारायणी नदीमा १३ अज्ञात शव भेटिनुले बाढीले निम्त्याएको मानवीय क्षतिको वास्तविक तस्वीर अझै पूर्ण रूपमा बाहिर आइनसकेको संकेत गरेको छ।

तर भारतमा भेटिएका शवको पहिचान तथा घटनासँगको प्रत्यक्ष सम्बन्ध पुष्टि नभएसम्म तथ्यलाई त्यही सीमाभित्र राखेर अनुसन्धान र खोजी अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट