जनप्रतिनिधिकै बीचमा ढुङ्गा हानाहान, स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

लहान– सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच नै झडप भएको छ। मेयर रामपुकार साह र आयब्यय सार्वजनिक गर्न माग गर्दै चार दिनदेखि धर्नामा बसेका ६ जना वडाध्यक्ष पक्षबीच झडप भएको हो ।
दुवै पक्षबाट ढुंगामुढा भएको छ। झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको जनाईएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेका छन् ।
सिरहा प्रहरीका डिएसपी रविन्द्र राज पाण्डेका अनुसार नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेका छन्। नेपाल प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको छ।
झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । ४ जना नेपाल प्रहरी र दुई जना सशस्त्र प्रहरी घाइते भएको डीएसपी पाण्डेले जानकारी दिए। सर्वसाधारण घाइते भएपनि प्रहरीको सम्पर्कमा नआएको उनले वताए।
मेयर साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै नेपाली कांग्रेस, नेकपा एस र जसपाका छ जना वडाध्यक्ष विगत ४ दिनदेखि आन्दोलनमा छन् । मेयर एमालेबाट निर्वाचित भएका हुन। धर्नाका कारण कार्यालय ठप्प थियो ।
यसैबीच मेयरले बाहिरका व्यक्ति लिएर अचानक कार्यालय प्रवेश गरेपछि वडाध्यक्षहरु चिढिएका थिए। त्यसपछि उनीहरुले आफनो पक्षका मान्छे बोलाएपछि झडपको अवस्था आएको स्थानीयले वताए।