१ सय ७७ जना चिकित्सकले सामूहिक बिदा मागेपछि घोपामा हंगामा

धरान– सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक बिदा मागेपछि हंगामा भएको छ।

नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको र त्यस विषयमा प्रतिष्ठानका पदाधिकारीहरुले माग सम्बोधन गर्न नसकेको भन्दै उनीहरुले सामुहिक विदा वस्ने निर्णय गरेका हुन।

उनीहरु स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन सामूहिक बिदा मागेका हुन्। बिदाको निवेदन दिनेमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु छन् । उनीहरुले इमेलमार्फत प्रतिष्ठानका विभागीय प्रमुख र प्रशासनमा बिदाको निवेदन दिएका छन् ।

सिनेट अध्यक्ष समेत रहने स्वास्थ्यमन्त्री र कुलपति प्रधानमन्त्रीलाई असोज २६ सम्मको अल्टिमेटम दिने र उक्त दिनसम्म पनि सम्बोधन नगरे सामूहिक राजीनामा दिने तयारी भएको प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेरजा अहमद खानले बताए।

राजीनामा पत्र पनि ज्ञापनसँगै बुझाउँने उनीहरुको तयारी छ। प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु नियमित बढुवा र वृत्तिविकास नहुँदा निराश छन् । पछिल्लो पाँच वर्षयता सय जनाभन्दा बढी फ्याकल्टी चिकित्सकहरु प्रतिष्ठानबाट पलायन भएका छन् । चिकित्सकहरुको बढुवा नहुँदा प्रतिष्ठानले नेपाल मेडिकल काउन्सिल र चिकित्सक शिक्षा आयोगले निर्धारित गरेको मापदण्ड पुरा नभएपछि विद्यार्थी भर्ना सिट गुमाउदै आएको छ ।

बढुवाका लागि यसअघि भदौ २४ गते प्रतिष्ठानका पदाधिकारी र व्यवस्थापनबीच तीन बुँदे सहमति भएपनि स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँग राय लिएर काम गर्ने भनेर टारेपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट