हमासको अपहरणमा १ जना नेपाली विद्यार्थी पनि, कञ्चनपुरका विपिन जोशी भएको अनुमान

काठमाडौं– इजरायलमा आतंकवादी समुह हमासले अपहरण गरेका ब्यक्तिहरु मध्ये एक जना नेपाली विद्यार्थी समेत परेको खुलेको छ। आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी अझै भेटिएका छैनन्। उनी नै अपहरणमा परेको हुनसक्ने आशंका छ। बेपत्ता हुनेमा एक जना मात्र नेपाली छन्।

इजरायलस्थित नेपाली दूतावासले खोजी जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर, उनी नै अपहरणमा परेको भन्ने यकिन नभएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । विभिन्न टेलिभिजन तथा मिडियाले सामाजिक सञ्जालमा आएका भिडिओ विश्लेषण गर्दै विभिन्न देशका नागरिकबारे खुलासा गरिरहेका छन्।

हमास समुहले बन्धक बनाएकामा इजरायलीका अलावा, मेक्सिकन, ब्राजिलियन, जर्मन, थाई र एक जना नेपाली विद्यार्थी समेत रहेको समाचार माध्यमले जनाएका छन्। संगै रहेका साथीलाई लगेर विभिन्न अस्पतालमा खोजी गर्दा पनि विपिनबारे केही पत्तो लाग्न सकेको छैन ।

गत भदौ अन्तिम साता ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएकामध्ये १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ। बाँकी ६ जना घाइते छन्। ४ जना अस्पतालमा छन् भने २ जना डिस्चार्ज भइसकेका छन्।

शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी इजरायलमा अप्रत्यासित रूपमा आक्रमण गरेका थिए। त्यसपछि दर्जनौँ भिडिओ भाइरल भएका छन्। जसमा बन्धक बनाइएका इजरायली सैनिक र अन्य नागरिक देख्न सकिन्छ।

इजरायली सेनाले १ सय देखि १५० को बिचमा विभिन्न देशका नागरिक वन्धक वनाईएको उल्लेख गरेको छ । एउटा भिडिओमा एउटा साङ्गीतिक कार्यक्रममा विस्फोट र गोलाबारी भएपछि भागदौड मच्चिएको देखिन्छ। नाचगानमा रहेको समूह मरुभूमिमा भागिरहेको देख्न सकिन्छ।

पश्चिम नेगेभको किबुत्स रिममा भएको उक्त कार्यक्रमस्थलबाट आइतबार साँझ उद्धारकर्ताले २६० शव फेला पारेका थिए । अर्को भिडिओमा लगभग चारजना इजरेली सर्वसाधारणलाई बेरी नगरबाट लिएर गएको देख्न सकिन्छ। बन्धक बनाइएकामध्ये एक वृद्धा पनि छिन्।

इजरायलका सामाजिक सञ्जाल प्रयोगकर्ताले एक किशोरी बेपत्ता रहेको भन्दै तस्वीर सेयर गरेका छन्। सामाजिक सञ्जालमा सेयर गरिएको अर्को भिडिओमा एउटा पिकअप ट्रकले लगभग निर्वस्त्र महिलाको शव लगिरहेको देखिन्छ। त्यसपछि सामाजिक सञ्जालमा सेयर भएको अर्को भिडिओमा एउटी आमाले उक्त शव आफ्नी छोरीको भएको भन्दै उनको नाम शानी लोउक भएको बताएकी छन्।

सार्वजनिक एउटा भिडिओमा पिकअप ट्रक भिडतर्फ अघि बढिरहेको देखिन्छ। त्यहाँबाट ‘अल्लाहु अकबर’ भन्दै कराइरहेको सुन्न सकिन्छ। बन्धक व्यक्ति सवारी साधनभित्र पल्टिरहेका हुन्छन्। उक्त स्थान गाजा स्ट्रिपको बानी सुहेइला रहेको पहिचान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट