नवनियुक्त मुख्यमन्त्रीलाई बुबाको अधुरो काम पुरा गर्ने अवसर, बन्छ त कन्या छात्रावास ? (फोटो फिचर)

राजविराज– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन्।

सिंहले मुख्यमन्त्रीको सपथ लिएसँगै जनकपुरमा खुसियाली छ। सप्तरीदेखि मानिसहरु खुसियाली साटासाट गर्न जनकपुर पुगेका छन्। यो खुसीसँग मुख्यमन्त्री सिंहमाथि जिम्मेवारी पनि थपिएको छ। खास गरी गृहजिल्ला भएका कारण सप्तरीवासीले उनीसँग अलि वढि नै अपेक्षा गर्नु स्वभाविक हो। उनले जिल्लामा विकास निर्माणका साथै सहिद परिवारका सपना पुरा गर्नुपर्ने दायित्व छ।

अर्कोतर्फ, १८ वर्षअघि निर्माण सुरु भएको मुलुककै पुरानो राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास भवनले उनलाई गिज्याईरहेको छ। यो योजना निर्माणको जिम्मा उनकै वुबा शेखर सिंहले लिएका थिए।

भारतीय राजदुतावासको १ करोड ९६ लाख ४५ हजार ५३२ रुपैयाँ सहयोगमा निर्माण गर्ने गरी ठेक्का लागेको दुई दशक वितिसक्दा पनि यो योजना अधुरै छ। कन्या छात्रावासको निर्माण कार्य सन् २००६ भित्रै सम्पन्न गर्नु पर्ने थियो। तर निर्धारित समय सकिएको १८ वर्ष वितिसक्दा पनि योजना पलपत्र छ ।

५६ कोठे उक्त छात्रावासको झ्याल, ढोका, दुईवटा सिढी, घर र छतको रेलिङ्ग, रंगरोगन, विद्युत जडान, क्यान्टीन र शौचालय निर्माणलगायतका काम वाँकी नै छन्। समितिमार्फत निर्माण सुरु गरिएको छात्रावासको अधुरो काम सम्पन्न गर्न पटक–पटक भएका प्रयास असफल हुँदै आएका छन्।

शेखरकुमार सिंह स्वयम् राष्ट्रिय सभाका सदस्य बनेका वेला यो विषयमा केही प्रगति हुने अपेक्षा गरिएको थियो। उनी भारतीय दुतावाससँग नजिकका ब्यक्ति भनेर चिनिने गरेका छन्। त्यसैले उनकै पहलमा छात्राबास भवनको अधुरो काम पुरा हुने अपेक्षा गरिएपनि त्यो पुरा भएन।

अव मुख्यमन्त्री बनेपछि सतिश सिंहले नै वुबाको अधुरो काम पुरा गर्ने अपेक्षा सप्तरीबासीले गरेका छन्। यतिमात्रै होईन, भारतीय दुतावासको सहयोगमा सञ्चालित ५ वटा अधुरा योजना पुरा गर्न उनले पहल गर्नेमा सप्तरीवासी आशावादी छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट