हमासको अपहरण परेका मध्ये १३ जना मारिएको दाबी, नेपालमा पनि वढ्यो ढुकढुकी

काठमाडौं– इजरायलमा भएको आतंवादी हमलाका क्रममा अपहरण परेका मध्ये १३ जना मानिस मारिएको हमास समुहले दावी गरेको छ।

हमासको सैन्य समूहले पछिल्लो २४ घण्टामा विदेशीसहित १३ जना अपहरणमा रहेका बन्धक मारिएको दाबी गरेको हो। इजरायलको हवाई हमलामा उनीहरु मारिएको हमासले दावी गरेको छ।

अपहरणमा लिएका इजरायलीसहित विदेशी नागरिकलाई विभिन्न स्थानमा राखिएको र पाँच स्थानमा राखिएका १३ जना इजराली हवाई हमलामा मारिएको हमास समूहको दाबी छ।

यसअघि हमास समूहले इजरायली सेनाले आक्रमण निरन्तर जारी राखेको अवस्थामा अपहरणमा लिइएका बन्धकहरुलाई लाइभ देखाएर हत्या गर्ने चेतावनी दिएको थियो।

अक्टोबर ७ मा भएको आक्रमणका क्रममा १५० जनाभन्दा बढि मानिसहरुलाई हमासले नियन्त्रणमा लिएको थियो।

हमासको यो दावीपछि नेपालमा समेत तनाव वढेको छ। अपहरणमा हालसम्म सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी पनि परेको आशंका छ। बेपत्ता हुनेमा एक जना मात्र नेपाली छन्। तर, उनी नै अपहरणमा परेको भन्ने यकिन नभएको त्यहाँको नेपाली दुतावासले जनाएको छ।

विभिन्न टेलिभिजन तथा मिडियाले सामाजिक सञ्जालमा आएका भिडिओ विश्लेषण गर्दै विभिन्न देशका नागरिकबारे खुलासा गरिरहेका छन्। उनीहरुका अनुसार हमास समुहले बन्धक बनाएकामा इजरायलीका अलावा, मेक्सिकन, ब्राजिलियन, जर्मन, थाई र एक जना नेपाली विद्यार्थी समेत छन्।

गत भदौ अन्तिम साता ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएकामध्ये १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ। बाँकी ६ जना घाइते छन्। ४ जना अस्पतालमा छन् भने २ जना डिस्चार्ज भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट