सामाजिक विकास मन्त्रीले नै दाईजो मागेर श्रीमतीलाई घर निकाला गरेपछि…

भैरहवा– श्रीमतीलाई हिंसा गरेको र घर निकाला गरेको विषय वाहिरिएपछि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ता विवादमा तानिएका छन्। श्रीमती कान्तिकुमारीले आफुमाथि हिन्सा गरेको र घरनिकाला गरेको भन्दै मन्त्री गुप्ता विरुद्ध बिहीबार राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी छिन्।

३४ वर्षीया कान्तिले अनलाइनमार्फत आयोगमा उजुरी गरेकी हुन। उजुरीमा लामो समय शारीरिक र मानसिक हिंसा सहनुपरेको र हिंसा सहन नसकेर हाल करिव ३ वर्षदेखि दुई सन्तानसहित पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलटारी स्थित माइतीमा बस्दै आएको जनाएकी छिन्। उसो त उनी वेलावखत घरमा जाने गरेकी छिन्। तर, कहिलै राम्रो ब्यवहार नहुने र कुटपिट हुने गरेका कारण टिक्न नसकेको वताउँछिन्।

पछिल्लो पटक १४ कात्तिकमा उनी बुबा प्रेमचन्द्र गुप्तालाई साथमा लिएर लुम्बिनीस्थित पतिको घर गएकी थिईन। तर, घर पुग्नेबित्तिकै सासू र नन्दले हातपात गरेको उनको भनाई छ। घरबाहिर रहेका पतिले पनि फोन गरेर बुबालाई ‘तपाईंकी छोरीका लागि मेरो घरको ढोका बन्द भइसक्यो’ भन्दै जवाफ दिएको उनको भनाई छ।

विवादको कारण भने दहेज (दाईजो) भएको उनले वताईन। पैसा मागेर विवाद गर्न थालेको र विवाद बढ्दै जाँदा हातपात हुन थालेपछि आफु माइतीको सरणमा जानु परेको उनले गुनासो गरिन। कान्तिका अनुसार सीकेले पछिल्लो पटक ०७९ वैशाखको स्थानीय तह निर्वाचनताका माइतबाट ५ लाख दिलाइदेउ भनेका थिए । यसअघि नै उनले विहेको खर्चले ब्यवहार धान्न समस्या भएको भन्दै ५ लाख रुपैयाँ सापटी भन्दै लिएका थिए। त्यो पैसा पनि नतिरी फेरी पैसा माग्न थालेपछि झगडा सुरु भएको उनको भनाई छ।

जनमत पार्टीबाट नगर प्रमुखको उम्मेदवार बनेका गुप्ता पराजित भए। त्यसपछि प्रदेश र संघीय निर्वाचन आयो। उक्त निर्वाचनमा खर्च गर्नका लागि माइतबाट १० लाख रुपैयाँ मगाउन दबाब दिए। त्यति ठूलो रकम मगाउन नसक्ने बताएपछि फेरि तनाव सुरु भएको उनले बताइन। प्रदेशसभा सदस्यमा जनमत पार्टीबाट गुप्ता निर्वाचित भए, तर सम्बन्ध सहज बनेन। वरु सम्वन्ध विच्छेद गर्ने धम्की दिन थालेपछि आफु विचल्लीमा परेको उनको भनाई छ।

सीके र कान्तिबाबीचमा १४ वैशाख ०७५ मा सामाजिक परम्परा अनुसार भब्य विवाह भएको थियो। रूपन्देहीको लुम्बिनीबाट १५ गाडीमा २ सय जन्ती लिएर सीके दुलही लिन बेलटारी पुगेका थिए भने प्रेमचन्द्रले पनि ३ लाख ४० हजार खर्च गरेर श्री एयरलायन्सको हेलिकप्टर चार्टर्ड गरी छोरी–ज्वाइँको बिदाइ गरे।

तर त्यति भव्य रुपमा सम्पन्न भएको विवाह ५ वर्षपनि टिक्न नसकेको स्थानीयहरु वताउँछन्। मन्त्री भईसकेका सीकेले श्रीमतीमाथि हिंसा गरेको सुनेर उनीहरु चकित छन । हेलिकप्टर चार्टर्ड गरेर ज्वाइँलाई ‘सरप्राइज’ दिएको गुप्ता परिवारले अहिले आफूहरूका लागि ज्वाइँको घरको ढोका बन्द भएको गुनासो गरेका छन।

मन्त्री गुप्ताले भने कुनै पनि पारिवारिक समस्या नरहेको बताउँदै कान्ति आफै रिसाएर माइत गएको बताए । आफुले पैसा मागेको र दुःख दिएको कुरा पनि गलत भएको उनको दावी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट