जुवाको खालबाट पहुँचवाला पक्राउ परेपछि मध्येरातमा नेताहरुको दौडादौड

काठमाडौँ– एनआरएनएमा आबद्ध ब्यक्ति र राजनीतिकसँग जोडिएका २२ जना जुवाको खालबाट पक्राउ परेपछि नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका नेताहरुको दौडादौड भएको छ।
प्रहरीले आईतबार राती काठमाडौँको नागार्जुन नगरपालिका–३ ठुलोभ¥याङ एकधारा बस्ने केशव अधिकारीको घरबाट २२ जना जुवाडेलाई पक्राउ गरेको थियो। कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट नगद ४ लाख ९२ हजार र कौडासमेत बरामद भएको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेक बहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णु लाल लामा, कुमार खड्का, अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोक बहादुर बोहरा, केशव राज अधिकारी, भरत बोहरा, राजु जिसी, विशाल तामाङ, विकास खत्री, लोक बहादुर तामाङ, निर बहादुर वाइबा, राम बहादुर लामा र लोक बहादुर श्रेष्ठलगायत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार टीबी कार्की र मुडभरी एनआरएनएमा आबद्ध छन् । कार्की एनआरएनएका पूर्व उपाध्यक्ष समेत हुन् भने गत ११ औँ महाधिवेशनमा निर्वाचन समितिका सदस्य समेत रहेका थिए ।
यस्तै दानी नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष समेत हुन् । उनलाई छुटाउन माओवादीले लबिङ गरेको प्रहरीको भनाइ छ। यसैगरी, कार्कीलगायतलाई छुटाउन एकीकृत समाजवादी र एमालेका केही नेताले लागेको प्रहरीले जनाएको छ।
एकीकृत समाजवादीका एक पदाधिकारी तहका नेताबाट समेत जुवाडेकालाई छुटाउन दौडिरहेको जनाईएको छ। तर, प्रहरीले भने जुवा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ । उनीहरु सबै अहिले प्रहरी वृत्त स्वयम्भुको हिरासतमा छन् ।
जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। यसैगरी दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना हुने व्यवस्था छ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।