प्रसाईँको प्रदर्शनमा गुलेली बोकेको समुहले बैंकमाथि गर्न सक्छ आक्रमण

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा आज बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न आठ स्थानबाट जुलुस निस्कने भएको छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गोंगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ।

यसैबीच, प्रसाईंको यही प्रदर्शनका क्रममा विभिन्न बैंक तथा तिनका शाखाहरूमा आक्रमण हुनसक्ने सुरक्षा परिषद्ले विश्लेषण गरेको छ। प्रसाईं स्वयं विभिन्न बैंकबाट ऋण लिएर नतिरेका व्यक्ति हुन्।

उनले अरु व्यवसायीलाई पनि व्यवस्था पल्टाउन साथ दिए ऋणमुक्त गराइदिन्छु भन्ने प्रलोभन बाँड्दै हिँडेका छन्। यतिमात्रै होईन, काठमाडौंमा मंसिर ७ गतेदेखि हुने आन्दोलनमा गए लघुवित्तको ब्याजबाट छुटकारा पाइन्छ भ्रम फैलाएर सर्वसाधारणलाई भेला गरिएको छ।

प्रसाईंको समूहले गुलेलीलगायतका हतियार पनि भित्र्याएको हुन सक्ने आशंंका प्रहरीको छ। २५ देखि ३० जनाका टोली बनाएर आक्रमण वा प्रतिकारका लागि परिचालन गरिरहेको सूचना सुरक्षा संयन्त्रले संकलन गरेको छ। यस्ता २५ वटा जति समूह रहेको सूचना गुप्तचर संयन्त्रसँग छ।

प्रसाईंका कार्यक्रम प्रमुख हरि कार्कीले नै केही दिनअघि ५ हजार जतिको युवा दस्ता रहेको बताएका थिए। प्रसाईंका एक सहयोगीले यो आन्दोलनमा २० करोड खर्च गर्ने तयारी गरेको जनाएका छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनमा सुरुमा ५ लाख समर्थक भेला गर्ने भने पनि २ लाखसम्म पुग्ने आकलन उनको सहयोगी समूहले गरेको छ। तर, राष्ट्रिय सुरक्षा परिषदले भने प्रसाईंको शक्ति प्रदर्शनमा कम्तीमा १६ र बढीमा २४ हजार सहभागि जम्मा हुने विश्लेषण गरेको छ।

प्रदर्शनमा सबैभन्दा बढी कोशी प्रदेशबाट ७ हजार, त्यसमा पनि झापा जिल्लाबाट मान्छे धेरै आएको जनाईएको छ। मधेस प्रदेशबाट ६, बागमती प्रदेशबाट ७ देखि ८, गण्डकी प्रदेशबाट ३ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट १ हजार मानिस जम्मा हुने आँकलन छ।

प्रसाईको प्रदर्शनमा खास गरी धार्मिक संघ–संस्था र भारतका हिन्दु अतिवादीहरूको साथ रहेको निष्कर्ष सुरक्षा परिषद्ले निकालेको छ। प्रसाईंको शक्ति प्रदर्शनको पृष्ठभूमिमा सिंह थरका एक भारतीय हिन्दूवादी नेता रहेको सुरक्षा परिषदको दावी छ।

हिन्दु युवा बाहिनी दस्ता, बजरंग दललगायत विभिन्न नामका धार्मिक आवरणका संगठनहरूले परिस्थितिलाई भड्काउने र दंगा सिर्जना गर्न सक्ने सम्भावनासम्बन्धी सुराक पनि सुरक्षा निकायहरूले पाएका छन्।

सुरक्षा परिषदका अनुसार करिब ४३ वटा संघसंस्थाको गतिविधि प्रसाईँलाई सघाउने खालका देखिएका छन्। तीमध्ये अधिकांश स–साना धार्मिक संघसंस्था र तराईँमा धार्मिक आवरणमा केही राजनीतिक तथा हिंसात्मक गतिविधि गरिरहेका संगठन पनि रहेको सुरक्षा परिषद्को विश्लेषण छ।

यद्यपी, तीन दिन नटिक्ने विश्लेषण सुरक्षा निकायहरूले गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट