प्रतिष्ठान निर्माणको काम थाल्न माग गर्दै सप्तरी युथद्वारा आन्दोलनको घोषणा

राजविराज– पाँच वर्षभित्र निर्माण सक्ने गरी २ वर्षअघि शिलन्यास गरी अलपत्र पारिएको रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिस्ठानको निर्माण काम अघि वढाउन माग गर्दै सप्तरी युथ नेपालले आन्दोलनको घोषणा गरेको छ।

सप्तरी युथ नेपालको शनिवार वसेको वैठकले प्रतिष्ठानको काम अबिलम्ब सुचारु गराउन सरकारलाई दवाव दिने उद्देश्यले आन्दोलनमा उत्रिने निर्णय गरेको हो। जसका लागि सत्येन्द्र यादवको संयोजकत्वमा १८ सदस्यीय आन्दोलन परिचाल समिति समेत गठन गरिएको छ।

आन्दोलनका कार्यक्रम अनुसार मंसिर १० गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन, ११ गते -याली, १२ गते सिठ्ठी जुलुस, १३ गते टर्च बालेर नेता/सांसदको खोजी, १४ र १५ गते जिल्ला प्रशासन कार्यालयको मूल गेटमा क्रमशः १ घण्टा र २ घण्टा धर्ना दिने लगायत रहेको कार्यबाहक अध्यक्ष मोहन यादवले वताए।

सात दिने आन्दोलनबाट पनि माग सुनुवाई नभए अर्को वैठकले आन्दोलनका कार्यक्रम घोषणा गरिने उनको भनाई छ।

अर्कोतर्फ, प्रतिष्ठानको काम अघि वढाउन माग गर्दै राजविराज नगरपालिका १० विरौलका स्थानीयवासी समेत विगत ४४ दिन (२६ असोज) देखी देखि रिले अनुशन वसिरहेका छन्।

एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार १६ पुस ०७५ मा मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।

यसका लागी २१ जेठ ०७८ मा मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो।

जग्गाको टुङ्गो लागेपछि २२ असार ०७८ असारमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन शिलान्यास गरेका थिए। गजेन्द्र नारायण सिंह अस्पतालको एउटा कोठा लिएर पुर्वाधार तयारी विकास समितीको कार्यालय पनि सञ्चालन गरियो।

तर, अहिले निर्माणको काम विरौलमा बोर्ड राख्ने वाहेक थप प्रगति छैन। समितीका अध्यक्ष डा.रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछी अर्काे अध्यक्ष नियुक्त गरिएको छैन भने गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेण्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ।

प्रष्ठिानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछी प्रतिष्ठान कर्मचारी विहीन बनेको छ भने पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैया खर्च गरी किनिएका सामानमा माकुराले जालो लगाएको छ।

प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिको कार्यालयको लागि आर्थिक वर्ष ०७५÷०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको छ। जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको रकेर्ड छ।

कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट