‘दुर्गा प्रसाईँ सही हुन’ भन्दै फेसबुकमा लाइभ गरेर आत्महत्या प्रयास, प्रहरीले बचायो

काठमाडौं– राजधानीमा शनिवार साँझ एक युवकले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेका छन्। फेसबुक लाइभमा आएर ती व्यक्तिले आत्महत्याको प्रयास गरेका हुन्।
मोरङस्थित एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग उक्त पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका ति युवकले आत्महत्या प्रयास गरेका हुन्।
आफूले २८ हजार रुपैयाँ किस्ता तिर्न बाँकी रहँदा लगातार टर्चर आइरहेपछि आत्महत्याको निर्णयमा पुगेको उनले लाइभमार्फत बताएका थिए। करिब साढे ६ मिनेट लाइभमा आएका उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको उल्लेख गरेका छन्।
२ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन्। ४ लाख ५४ हजार तिरिसक्दा पनि मंसिर १० गतेसम्म २८ हजार नबुझाए फाइनान्सले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताएका छन्।
दुर्गा प्रसाईंले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई समयमै पुगेको प्रहरी टोलीले जिवितै उद्वार गरेको छ। उनलाई ताहाचलबाट उद्वार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।