उद्योगी प्रकाश मुन्धडाको विराटनगरस्थित निवासमा प्रहरीको छापा, ठूलो सुरक्षा घेराबीच खानतलासी
विराटनगर— नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्धडाको विराटनगरस्थित निवासमा प्रहरीले सोमबार बिहान व्यापक सुरक्षा व्यवस्थासहित खानतलासी गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घर र कार्यालय क्षेत्रमा घेरा हालेर अनुसन्धान अघि बढाएको हो।
प्रहरीले विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालयअगाडि रहेको मुन्धडाको निवासमा बिहानैदेखि खानतलासी सुरु गरेको थियो। अनुसन्धानका क्रममा जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फका सडकमा केही समय सवारीसाधन तथा सर्वसाधारणको आवतजावतसमेत सीमित गरिएको थियो।
प्रहरी स्रोतका अनुसार ठूलो परिमाणमा अवैध रूपमा नगद राखिएको हुन सक्ने सूचनाका आधारमा खानतलासी गरिएको हो। साथै, चाँदी कारोबारसँग सम्बन्धित आर्थिक अनियमितताको आशंकालाई समेत अनुसन्धानको दायरामा राखिएको जनाइएको छ। यद्यपि, छापा कुन विशिष्ट कसुर वा मुद्दासँग सम्बन्धित हो भन्ने विषयमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन।
मुन्धडा परिवारको देवनरा ग्रुप अन्तर्गत दर्जनौँ उद्योग तथा व्यवसाय सञ्चालनमा छन्। विशेषगरी चाँदीको खरिद–बिक्री क्षेत्रमा उक्त समूहको उल्लेख्य लगानी रहेको व्यावसायिक क्षेत्रको भनाइ छ। प्रहरी स्रोतले विगतदेखि मुन्धडामाथि अवैध हुण्डी कारोबारसम्बन्धी आरोपहरू लाग्दै आएको उल्लेख गरे पनि ती आरोप हालसम्म कानुनी रूपमा पुष्टि नभएको जनाएको छ।
त्यसैले हालको अनुसन्धानलाई पनि प्रारम्भिक सूचनाका आधारमा गरिएको कानुनी प्रक्रिया भएको प्रहरीको भनाइ छ। यो समाचार तयार पार्दासम्म खानतलासी जारी रहेको थियो। घर वा कार्यालयबाट नगद, कागजात वा अन्य सामग्री बरामद भएको विषयमा प्रहरीले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
मोरङ प्रहरीले अनुसन्धान जारी रहेको र खानतलासी सम्पन्न भएपछि मात्रै बरामद सामग्री तथा अनुसन्धानको प्रकृतिबारे औपचारिक जानकारी दिइने जनाएको छ। यस घटनाप्रति प्रतिक्रिया दिँदै नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले छापाको कारणबारे आफूहरूलाई कुनै जानकारी नदिइएको बताए। सुरक्षा निकायले पनि यसबारे औपचारिक रूपमा केही जानकारी नगराएको उनको भनाइ छ।

