नेपाल एयरलाईन्सको बदमासीः प्रचण्डलाई चढाउन दुवई जान टिकट काटेका ३१ यात्रु अलपत्र

काठमाडौं– बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाललाई लिएर उडेको नेपाल एयरलाइन्सले दुवई जाने ३१ जना यात्रु छोडेर गएको गुलेको छ। प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन्।

राति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई जान टिकट काटेका सवै यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ।

यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ। प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो।

साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो। तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु फर्किन बाध्य भएका थिए ।

उडान समय अगाडि सारेको पूर्वजानकारी एयरलाइन्सले नदिएको भन्दै यात्रुले गुनासो गरेका छन्। साढे ८ बजे नै एयरपोर्ट पुगेका यात्रुलाई समेत फ्लाइट समय भइसकेको भन्दै भित्र छिर्न नदिइएको कतिपयले गुनासो गरेका छन्।

नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने आश्वासन आफूहरुलाई दिएको यात्रुले बताए। नेपाल एयरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्नेहरु समस्यामा परेका छन्।

उनीहरुले समयमा आउन नसकेको पूर्वजानकारी गराउनुपर्ने भन्दै नेपाल एयरलाइन्सबाट पत्र मागेका थिए। त्यसैले यात्रुहरुको अनुरोधको आधारमा नेपाल एयरलाइन्सले भीभीआईपी फ्लाइटका कारण उडाउन नसकेको व्यहोरासहितको पत्र थमाएर होटलमा लगेर राखेको छ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहालसहितको टोली बुधवार त्यसतर्फ गएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट