मञ्जुको आत्मदाहको चेतावनीपछि ‘जनयुद्ध’का घाइतेलाई सिंहदरबार छिर्न प्रतिवन्ध

काठमाडौं– मंगलबार सिंहदरबार छिर्न लागेका पूर्वलडाकु तथा जनयुद्धका घाइतेलाई प्रहरीले गेटमै रोकेपछि उनीहरु आक्रोशित भएका छन्।

आज बिहानैदेखि जनयुद्धकी घाइते मञ्जु धमलाले आत्मदाह गर्ने हल्ला चलेसंगै प्रहरीले सिंहदरबार दक्षिणी गेटअघि सुरक्षा व्यवस्था कडा बनाएको थियो।

त्यसपछि जनयुद्धका घाइतेद्वय मञ्जु धमला र रेशम घिमिरेलगायतलाई प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको पास हुँदा पनि प्रहरीले सिंहदरबार छिर्न नदिएको हो।

प्रहरीले पास लिएर सिंहदरबार छिर्ने सर्वसाधारणमाथि समेत निगरानी बढाएको थियो। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकूले प्रदर्शन गर्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

सिंहदरबार छिर्ने मानिसहरूलाई प्रहरीले चेकजाँच गरेको छ। प्रहरीले सवारी साधन तथा मानिसहरूका झोला चेकजाँच गरेर मात्र सिंहदरबार प्रवेश गर्न दिएको थियो।

जनयुद्धका सुप्रीम कमान्डर नै प्रधानमन्त्री भएको बेलामा पनि घाइतेहरूलाई बेवास्ता गरिएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्। उनीहरुले जनयुद्धका घाइतेको उचित व्यवस्थापन नगरे आत्मदाह गर्ने चेतावनी दिएका छन्।

पति पत्नि नै जनयुद्धका घाईते
कालिकोट रास्कोट नगरपालिका–८ बाहुनथानकी मञ्जु धमला माओवादी छापामार हुन। २०६१ साल असोज १६ गते दाङको धोवीघाटमा भएको नेपाली सेना र माओवादी छापामारहरुबीचको भिडन्तमा उनी पनि सहभागी थिइन् । लडाइाँ उनको खुट्टामा गोली लागेको थियो।

देब्रे खुट्टाको हिपको पछाडिबाट गोली लागेर अगाडि निस्कियो भने कम्मरको जोर्नी भाँचिएर नशा पनि चुँडियो। गोली लागेको १६ दिनपछि उनले भारतको चण्डीगढमा उपचार भयो। ३ वटा अप्रेसन र खुट्टा रड हाल्नु पर्यो।

उनको हालसम्म २८ वटा अप्रेसन ११० पटक खुट्टा प्लास्टर गरिएको छ। अझै रगतनली जोड्ने, ढाडको नशा च्यापिएको र पैतालाको आर्थोथेसिसको गरी तीन वटा अप्रेसन बाँकी रहेको उनको भनाइ छ।

उनलाई हिँडडुल गर्न पनि असहज छ। वैशाखी र लौरोकोसहारामा खुट्टा लतार्दै हिँड्ने गरेको धमलाले बताइन्। गोली लागेको २० वर्ष भयो तर, सरकार र पार्टी नेतृत्वले केही नगरेको उनको गुनासो छ।

उनका पति पनि जनयुद्धका घाइते हुन्। उनको आँखा, पाखुरा, पेट र टाउकोमा गोलीको छर्रा लागेको छ। दाहिने आँखाको रगत नली सुकेको धमालाले बताइन्। कक्षा १२ मा अध्ययनरत १७ वर्षका छोरा र ७ कक्षामा पढ्ने १२ वर्षकी छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट