गृहमन्त्री श्रेष्ठको मुटुमा फेरी समस्या, एन्जियोप्लास्टी गरियो
काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ। यो रगतको नलीलाई फराकिलो बनाउने शल्यक्रिया प्रविधि हो।
यसअघि करिब डेढ महिना अघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो।
छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डाक्टर अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार डाक्टर मास्केसहितिको टोलीले मन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरेको हो। उनको मुटुको वायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएको जनाईएको छ।
श्रेष्ठलाई आज विहानै प्रधानमन्त्री पुष्पकमल दाहालले अस्पतालमै पुगेर भेट गरेका छन्।