काज प्रथामाथि मन्त्रालयको कडाइः गजेन्द्रनारायण सिंह अस्पतालका ६ विशेषज्ञ डाक्टर फिर्ता

राजविराज — लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभावका कारण प्रभावकारी सेवा दिन संघर्ष गरिरहेको गजेन्द्रनारायण सिंह अस्पतालमा अब सुधारको संकेत देखिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा अन्यत्र कार्यरत चिकित्सकहरूलाई धमाधम दरबन्दीमै फर्काउने निर्णय गरेसँगै अस्पतालमा विशेषज्ञ सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको हो।

मन्त्रालयले पहुँच र प्रभावका आधारमा काठमाडौँलगायत सुगम क्षेत्रमा वर्षौँदेखि काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई फिर्ता पठाउन सुरु गरेको छ। पहिलो चरणमा १४ जना र त्यसलगत्तै थप ७ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई आफ्नै दरबन्दी रहेको अस्पतालमा फर्काइदा ६ जना सप्तरी फर्किँदैछन्।

जसमा इएनटी सर्जन वरिष्ठ कन्सल्टेन्ट डा. रोहित बज्राचार्य, एनेस्थेसियोलोजिष्ट डा. जोशनलाल बज्राचार्य, डा. विशाल कुमार देव, रेडियोलोजिष्ट डा. प्रकाश ढकाल, साइक्याट्रिष्ट डा. सुशिल समदर्शी र डा. रन्जु पोखरेल छन। उनिहरुले विभिन्न स्थानबाट फिर्ता भई अब राजविराजमै सेवा दिने भएका छन्। यीमध्ये डा. रोहित दशौँ तहका हुन् भने अन्य चिकित्सक नवौँ तहका रहेका छन्।

यी चिकित्सकहरू यसअघि भरतपुर अस्पताल, कोशी अस्पताल विराटनगर, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयहरू लगायतका निकायमा काजमा कार्यरत थिए। दरबन्दी गजेन्द्रनारायण सिंह अस्पतालमै भए पनि लामो समयदेखि उनीहरू अन्यत्र कार्यरत रहँदा अस्पतालमा विशेषज्ञ सेवा प्रभावित हुँदै आएको थियो।

स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा सुरु गरिएको यो अभियानको मुख्य उद्देश्य स्वास्थ्य सेवा प्रवाहलाई सन्तुलित बनाउनु र दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाको पहुँच सुनिश्चित गर्नु रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सर्वसाधारणले आफ्नै जिल्लामै विशेषज्ञ उपचार पाउने वातावरण बनाउन यो कदम चालिएको हो।

पहिलो चरणमै डडेल्धुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताललाई प्राथमिकतामा राखेर चिकित्सक फिर्ता गरिएको छ। यसले लामो समयदेखि उपेक्षित जस्तै बनेका क्षेत्रीय अस्पतालहरूमा सेवा सुधार हुने अपेक्षा गरिएको छ।

गजेन्द्रनारायण सिंह अस्पतालका लागि यो निर्णय विशेष महत्वको मानिएको छ। सीमित जनशक्तिका कारण विशेषज्ञ सेवा विस्तार गर्न नसकिरहेको अवस्थामा अब विभिन्न विधाका चिकित्सक उपलब्ध भएपछि उपचार सेवाको दायरा फराकिलो हुने देखिन्छ। स्थानीय बासिन्दाले पनि अब सामान्य उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरेका छन्।

मन्त्रालयको यो कदमले काज प्रथामाथि कडाइ गर्दै राज्यको जनशक्ति व्यवस्थापन प्रणालीलाई अनुशासित बनाउन खोजिएको संकेत पनि दिएको छ। यद्यपि, यस निर्णयको दीर्घकालीन प्रभाव कस्तो पर्छ भन्ने कुरा कार्यान्वयनको निरन्तरता र अनुगमनमा निर्भर रहने देखिन्छ।

समग्रमा, गजेन्द्रनारायण सिंह अस्पतालमा विशेषज्ञ चिकित्सकको पुनरागमनले स्थानीय स्वास्थ्य सेवामा सुधारको नयाँ अध्याय सुरु हुने संकेत दिएको छ, जसलाई प्रभावकारी बनाउन अब अस्पताल व्यवस्थापन र सरकार दुवैको भूमिका महत्वपूर्ण रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट