गोरखाको बारपाकमा भेडा गोठालो गर्ने चन्द्र यसरी बने सुन तस्कर

काठमाडौं– विहिबार राती ११ः४० बेज त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखा बारपाकका चन्द्र घले भेडा गोठाला भएको खुलेको छ। उनी बारपाकमा भेडा, च्याङ्ग्रा पालेर बसेका थिए।
पछिल्लो समय उनले काठमाडौंको सामाखुसीमा मासु पसल सञ्चालन गरेका छन्। उनी आफैं उत्तरी गोरखामा पुगेर जिउँदो भेडा, च्याङ्ग्रा ल्याई मासु बिक्री वितरण गर्थे। यो काम गर्नुपूर्व उनी गाउँमै खेती किसानी र भेडा पालनको काम गर्थे।
मीन घले पनि गोरखाकै बारपाकका हुन। उनी काठमाडौंमा वैदेशिक रोजगार व्यवसायमा एजेन्टको रुपमा काम गर्थे। उनीहरु दुवै जना पछिल्लो करिव एक वर्षदेखि सुन तस्करीमा लागेको खुलेको छ। मीनको बारेमा सवै जानकारी खुली नसकेपनि चन्द्रको ट्राभल हिस्ट्री अनुसार १० महिनाभित्रै ५ पटक दुवई ओहोर–दोहोर गरेको देखिएको छ।
०७९ माघयता दुबई आउ–जाउ गर्न थालेका उनी ३ देखि ७ दिनभित्र फर्कने गरेका थिए। पछिल्लो पटक उनी गत आइतबार मात्रै दुबई पुगेका थिए। यस हिसावले चन्द्रले यसअघि पनि पटक–पटक सुन तस्करी गरेको प्रहरीको आशंका छ।
प्रारम्भिक सोधपुटमा चन्द्रले गोरखाकै मीनबहादुर घलेले सुन लिन पठाएर आफु दुबई गएको बयान दिएका छन्। चन्द्रले दिएको बयानका आधारमा धुमवाराही बस्ने मीनबहादुरलाई पनि बिहीबार राति नै पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।
अन्य व्यक्तिको संग्लनताबारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मीनले भने सुनको विषयमा मुख खोलेका छैनन । पक्राउ गर्न प्रहरी उनको घर पुग्दा मीन घले मदिरा सेवन गरेर बसेका थिए। प्रहरीलाई देखेपछि मदिराले मातेका उनले ‘चन्द्रे समातियो?’ भनेर प्रहरीलाई नै सोधेका थिए।
प्रहरीको अनुमानमा दुवै घले सुनका मालिक होईनन्। उनीहरुले कमिसनका लागि भरियाको काम गरेको आशंका छ।
र यो पनि,
घलेले यसरी गर्थे सुनको तस्करीः वर्षमै ५ पटक दुबई ओहोर–दोहोर, गएको ३/४ दिनमै फिर्ता
१४ किलो सुनसहित पक्राउ परे चन्द्र घले, उनले पोलेपछि मीनवहादुर पनि पक्राउ