घलेले यसरी गर्थे सुनको तस्करीः वर्षमै ५ पटक दुबई ओहोर–दोहोर, गएको ३/४ दिनमै फिर्ता

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीले अनुमान गरेको छ। यसका केही तथ्यहरु पनि फेला परेका छन्।

उनी यो वर्ष सन् २०२३ मा मात्रै ५ पटक दुबई ओहोर–दोहोर गरेको पाइएको छ। उनी नेपालबाट दुबई पुगेको तीन दिनमै फर्किएका छन्। पछिल्लो एक वर्षयताको रेकर्ड अनुसार उनी पहिलो पटक गत माघमा दुबई पुगेको तथ्य फेला परेको छ।

२४ माघ ०७९ मा दुबई गएका घले त्यसको तीन दिनमै २७ माघमा नेपाल फर्किएका थिए। उनी त्यसको तीन महिनापछि २७ वैशाख ०८० मा फेरि दुबई पुगे। ३० वैशाखमै फर्किए।

१७ भदौ ०८० मा तेस्रो पटक यूएई गएका घले दुई दिनपछि अर्थात् १९ गते काठमाडौं फर्किए। फेरि उनी २८ असोजमा दुबई गएर १ कात्तिकमा फर्किए। पाँचौँ पटक उनी १८ मंसिरमा दुबई गएका थिए। चार दिनपछि दुबईबाट फर्किएका घले बिहीबार राति १४ किलो सुनसहित पक्राउ परे।

बिहीबार राति ११ः ४० बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट उनी काठमाडौं आएका थिए। सुन लिएर आउँदै गरेको पूर्वसूचनाका आधारमा विमानस्थल भन्सार कर्यालयका प्रमुख र प्रहरी प्रमुखसहितको टोलीले उनलाई भन्सार जाँचका क्रममा पक्राउ गरेको हो।

उनले ७ वटा बिस्कुट आकारमा ७ थान सुन ल्याएका थिए। तत्काल जोख्दा १४ किलो भएको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए। पक्राउ परेका घलेले आफू सुन ल्याउने व्यक्ति मात्रै भएको बताएका छन्। सुन गोरखाकै मीनबहादुर घलेको भएको बताएपछि उनलाई पनि प्रहरीले राती नै पक्राउ गरेको छ।

र यो पनि,

१४ किलो सुनसहित पक्राउ परे चन्द्र घले, उनले पोलेपछि मीनवहादुर पनि पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट