प्रहरीसँग ५५ लाखमा लागू औषध खरिदविक्रीको डिल, पेस्तोल झिकेपछि खुट्टामा गोली

काठमाडौं– ललितपुरको झम्सिखेलमा गोली चलाएर प्रहरी एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। उदयपुर घर भएका अविनाश राईलाई प्रहरीले दाहिने खुट्टामा गोली हानेर पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका–३, ठाडो भ-याङनजिकै एक रेष्टुरेन्टमा लागुऔषध कारोबारी बसेको सूचनाका आधारमा सादा पोसाकका प्रहरी त्यहाँ पुगेर अविनाशसँग लागू औषध खरिद विक्रिका लागि डिल गरेका थिए।
राईले ५५ लाख रुपैयाँमा ‘एम्फेटामाइन आइस’ नामको लागुऔषध बिक्री गर्ने जनाए। प्रहरीका अनुसार उनीसँग भारतबाट ल्याएको ४९० ग्राम लागुऔषध थियो। तर, राईले आफूसँग डिल गर्ने व्यक्तिहरू प्रहरी हुन भन्ने थाहा पाएपछि कटुवा पेस्तोल ताकेका थिए।
त्यसपछि केहीबेर दुवै पक्षबीच घम्साघम्सी भएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार यसै क्रममा राईले प्रहरीलाई कटुवा पेस्तोल ताके। त्यसपछि प्रहरीले पनि गोली चलाएको उनको भनाई छ।
राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।