शिक्षकको आन्दोलनमा प्रहरीले गोली चलाउँदा सिम्रौनगढमा एक जनाको मृत्यु

बारा — बारामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा गोली लागेका सिम्रौनगढ–१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको हो।

झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा मुखियाको टाउकोमा गोली लागेको थियो। उनको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको बाराका सीडीओ नवराज सापकोटाले जानकारी दिए।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले आक्रमणको प्रयास गरेका थिए। उनीहरूले मेयरको गाडीमा तोडफोड गरे।

त्यहीबेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबीच धकेलाधकेल भएको थियो, प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो। तर पछि आन्दोलनकारीहरूले थप दबाब बढाएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन टियर ग्यास र हवाई फायर गरेको थियो।

एसपी सुरेन्द्रप्रसाद काफ्लेका अनुसार प्रहरीले २०–२५ राउन्ड टियर ग्यास र हवाई फायर गरेको थियो। आन्दोलनकारीको ढुंगा प्रहारबाट १० प्रहरी घाइते भएका छन्। आन्दोलनका कारण दुई महिनायता नगरपालिकाबाट नियमित सेवा प्रवाह हुन सकेको छैन।

मेयर साह लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् भने नगरसभामा नेपाली कांग्रेसको बहुमत छ। यसअघि मेयर साहले नगरसभा सम्पन्न भएको भनेर सार्वजनिक गरे पनि कांग्रेसका जनप्रतिनिधिहरूले भने नगरसभा नभएको भन्दै विरोध जनाउँदा विवाद छ।

यही विवादका कारण काम कारबाही प्रभावित हुँदा कर्मचारी र शिक्षकहरू आन्दोलित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट