४५ लाख धरौटी राखेर मात्रै थुनामुक्त भए बालकृष्ण खाँण, ७ महिनापछि कारागार वाहिर
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई साधारण तारेखमा छाडेको छ। अख्तियारको यो निर्णयसँगै ७ महिनापछि खाणले उन्मुक्त सास फेरेका छन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो। त्यसपछि सात महिना उनी थुनामै थिए।
उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो। न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए। बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो।
खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरे। जिल्ला अदालतबाट उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ। खाँणलाई १५ लाख धरौटीमा रिहा गर्ने निर्णय गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले बताए।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो। भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा कीर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो।
त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो। खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो।
त्यो आदेशविरुद्ध खाँणसहितका आरोपीहरु उच्च अदालत, पाटन गएका थिए। उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो।
न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए भने खरेलले तत्काल उनी निर्दोष छन् भन्ने आधारहरु नदेखिएको भन्दै छाड्नु नहुने राय दिएका थिए।
त्यसपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासमा पेश हुँदा उनलाई छाड्ने आदेश सदर भएको थियो।